Kakhara सबैको खबर सम्पूर्ण खबर
अख्तियारद्वारा रुकुम पश्चिमको त्रिजमाविमा भ्रष्टाचार गरेको भन्दै ८ जना विरुद्ध मुद्दा दायर 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको त्रिभुवन जनता मावि मुसिकोट खलङ्गामा भ्रष्टाचार गरेको भन्दै ८ जना विरुद्ध मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । 

अख्तियारले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष खेमराज खड्का, तत्कालीन प्रधानाध्यापक हरिप्रसाद खनाल, मुसिकोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिनाराम खड्का सहित ८ जना विरुद्ध आरोप पत्र दायर गरेको हो । 

त्यस्तै लेखापाल ठगबहादुर बुढाथोकी, विद्यालयका कार्यालय सहायकद्वय रमा शाह र गौरी रावत केसी, मुसिकोट नगरपालिकाका तत्कालीन सूचना प्रविधि अधिकृत गोपाल ओली र डिजिटल कम्प्युटर एन्ड इलेकट्रोनिक्स वर्ल्ड तुलसीपुर दाङका प्रोप्राइटर शिवप्रसाद श्रेष्ठ विरुद्ध मुद्दा दायर भएको अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८/०७९ मा प्रविधिमैत्री कक्षा कोठा निर्माण तथा व्यवस्थापन कार्यक्रममा खरिद गरिएको भनिएका सामग्रीहरूमध्ये ल्यापटप, स्क्यानर, प्रोजेक्टर, ब्याट्री लगायतका सामग्रीहरू विद्यालयमा आपूर्ति नै नगरी चार लाख ८८ हजार ८ सय ११ रुपैयाँ दुरुपयोग गरिएको विज्ञप्तिमा उल्लेख छ । 

विद्यालयमा आइसिटीका सामान खरिद गरेपछि उक्त सामानहरू सञ्चालनको लागि तालिम सञ्चालन गर्ने भनी बजेट विनियोजन गरिएकोमा उक्त तालिम सञ्चालन नै नगरी सञ्चालन गरेको भनी झुट्टा विल भरपाई बनाई दुई लाख २० हजार रुपैयाँ भुक्तानी गरी जम्मा सात लाख ८ हजार ८ सय एघार रुपैयाँ पनि हिनामिना गरेको आरोप पत्रमा उल्लेख छ । 

त्यस्तै आर्थिक वर्ष २०७७/०७८ र आर्थिक वर्ष २०७८/०७९ मा विद्यालयको आन्तरिक आम्दानी, विद्यार्थीबाट उठाएको शुल्क रकम ५४ हजार ८ सय ८१ रुपैयाँ बैङ्क दाखिला नगरेको, यस्तै आर्थिक वर्ष २०७७/०७८ को बेरुजु फर्छ्यौटको लागि विद्यालयको खाताबाट रकम झिकी फेरी विद्यालयको खातामा रकम जम्मा गरी सोही भौचरको आधारमा बेरुजु फर्छ्यौट बापत २ लाख १२ हजार ६१ रुपैयाँ र बिना उद्देश्य, बिना भौचर विद्यालयको खाताबाट एक लाख रुपैयाँ झिकी हिनामिना गरेको समेत गरी कुल जम्मा १० लाख ७५ हजार ७ सय ५३ रुपैयाँ हिनामिना, हानि नोक्सानी एवं दुरुपयोग गरे गराएको अख्तियारको दाबी छ । 

उक्त कार्यमा संलग्न भएको भन्दै ८ जना उपर भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम बिगो रकम दाबी गर्दै विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको उल्लेख छ । आरोपित सबै जनाबाट बिगो माग दाबी गरिएको छ ।

fGX8pg_page-0001-1776859807.jpg

fGX8pg_page-0002-1776859806.jpg

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update