रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ९ वलिडेरामा निर्माणाधीन ज्येष्ठ नागरिक मिलन केन्द्र बजेट अभावका कारण अलपत्र अवस्थामा पुगेको छ । ज्येष्ठ नागरिकका लागि बैठक, छलफल, भेला तथा अन्य कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सुरु गरिएको उक्त योजना हालसम्म पूर्ण हुन सकेको छैन ।
२०८० साल चैत महिनाको पहिलो सातादेखि क्रमागत योजनाका रूपमा निर्माण कार्य सुरु गरिएको ज्येष्ठ नागरिक मिलन केन्द्र २०८२ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आवश्यक बजेट अभावका कारण काम बिचमै रोकिएको वडा अध्यक्ष शेरबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार कर्णाली प्रदेश सरकारबाट २२ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा करिब ८ लाख रुपैयाँ बराबरको काम हुन नसकी बजेट फ्रिज भएको थियो । हाल योजना सम्पन्न गर्न थप १५ देखि २० लाख रुपैयाँ आवश्यक पर्ने उहाँको भनाई छ ।
उक्त आयोजना स्थानीय उपभोक्ता समितिमार्फत निर्माण कार्य अघि बढाइएको थियो । हाल भवनको फिनिसिङ, रंगरोगन, प्लास्टर, ढोका जडान तथा घेराबार लगायतका काम गर्न बाँकी रहेको छ ।
तीन कोठे सभा हल र शौचालयसहितको संरचना निर्माणाधीन अवस्थामा रहेको उक्त केन्द्र पूर्ण नहुँदा स्थानीय ज्येष्ठ नागरिकहरू लक्षित सेवा तथा कार्यक्रमबाट वञ्चित भएका छन् । स्थानीयवासीले सम्बन्धित निकायसँग आवश्यक बजेट व्यवस्था गरी छिटो निर्माण सम्पन्न गर्न माग समेत गरेका छन् ।







-1759842583.jpg)