रुकुम पश्चिमको सानिभेरी गाउँपालिका वडा नम्बर ४ स्थित गरायला स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने मूल नारासहित सञ्चालन गरिएको एक दिने आयुर्वेद स्वास्थ्य शिविरमा स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको थियो । आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना तथा सानीभेरी गाउँपालिकाको समन्वयमा संचालन गरिएको शिविरबाट कुल ३ सय ८४ जनाले सेवा लिएका छन् ।
जसमा २२१ महिला र १६३ पुरुष रहेको आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमका प्रमुख डाक्टर महेन्द्र खड्काले जानकारी दिनुभयो । सेवा लिनेहरूमध्ये ४६ जना स्तनपायी महिला तथा १५४ जना ज्येष्ठ नागरिक रहेका थिए । गाउँमै पुगेर विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएपछि स्थानीय सेवाग्राहीहरू लाभान्वित भएका छन् । शिविरमा आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक संजय साहसहित जिल्लाभित्रका विभिन्न पालिकाका आयुर्वेद केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गरेका थिए ।
स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरले आयुर्वेद सेवाप्रति जनविश्वास थप मजबुत बनाएको सहभागीहरूले बताएका छन् । उद्घाटन कार्यक्रम आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डाक्टर खड्काको अध्यक्षता भएको कार्यक्रमा सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कर्णबिर केसीले स्वागत मन्तव्य व्यक्त गर्दै जिल्लास्तरबाट पालिकासँग समन्वय गरी गाउँमै आएर स्वास्थ्य सेवा प्रदान गरिएकोमा धन्यवाद ज्ञापन गर्नुएको थियो । प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बिष्टले दुर्गम क्षेत्रका नागरिकलाई गाउँमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराएकोमा आयुर्वेद स्वास्थ्य केन्द्र परिवारप्रति धन्यवाद व्यक्त गर्नुभयो । पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति नागरिकको विश्वास र पहुँच बढ्दै गएको उल्लेख गर्दै यसको प्रभावकारिता अझ विस्तार हुँदै जाने उहाँले विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रमको सञ्चालन स्वास्थ आयुर्वेद केन्द्रका कविराज बालकृष्ण गिरीले गर्नुभएको थियो ।







-1759842583.jpg)