बिहीबार साँझ हावाहुरी सहित आएको असिना पानीले रुकुम पश्चिमको विभिन्न ठाउँमा लगाएको मकै बाली तथा फलफूलमा क्षति पुर्याएको छ । जिल्ला मुसिकोट नगरपालिका तथा त्रिवेणी गाउँपालिका लगायत अन्य स्थानमा असिनाले क्षति पुर्याएको हो । बिहीबार साँझ आएको असिनाले त्रिवेणी गाउँपालिका वडा नम्बर २ को बेतखोला, बारेकोटे, गैरीनेटा, बाँदरपानी र चिन्छरे क्षेत्रमा असिनाले किसानले लगाएको बकै बाली तथा फलफूलमा ठुलो क्षति पुर्याएको त्रिवेणी २ का स्थानीय भिमबहादुर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार करिब ६:३० बजेदेखि परेको असिना झन्डै आधा घण्टासम्म लगातार परेपछि खेतबारीमै रहेको मकै, तरकारी, फलफूल तथा विभिन्न रुख बिरुवामा क्षति पुगेको छ । विशेष गरी हुर्कँदै गरेको मकै बाली असिनाले क्षति पुगेको छ ।किसानहरूले वर्षभरिको मुख्य आशाको रूपमा लगाएको मकै बाली नष्ट हुन थालेपछि किसान चिन्तित भएको उहाँको भनाई छ ।
“यसपालि मकै राम्रो हुने आशा थियो, तर असिनाले सबै सखाप पार्ने अवस्था बनायो,” त्रिवेणी २ का किसान कामबहादुर ओलीले दुखेसो पोख्नुभयो । अचानक आएको प्राकृतिक विपत्तिले किसानको ठुलो आशा मरेको भन्दै प्रभावित क्षेत्रका किसानले राहत तथा क्षतिको विवरण सङ्कलन गर्न सम्बन्धित निकायसँग माग समेत गरेका छन् । जिल्ला अन्य स्थानमा पनि असिनाले क्षति पुर्याएको छ ।
पछिल्लो समय मौसममा आएको असामान्य परिवर्तनका कारण कृषिमा निर्भर किसानहरू थप मारमा पर्दै आएका छन् । केही दिन पहिले पनि असिनाले जिल्लाको विभिन्न स्थानमा गहुँ बाली तथा फलफूलमा क्षति पुर्याएको थियो ।







-1759842583.jpg)