१९ औँ गणतन्त्र दिवसका अवसरमा रुकुम पश्चिममा वृक्षारोपण गरिएको छ । दिवसको अवसरमा जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर २ मा रहेको पशुपति मावि रातामाटाको परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।
जिल्लास्थित सरोकारवालाहरूको उपस्थितिमा डिभिजन वन कार्यालयको आयोजनामा विद्यालयमा करिब ६० वटा बिरुवा रोपिएको हो । परिजात, मयुरपंखी, वीरेन्द्र फूल, कल्की, कपूर लगायतका बिरुवा रोपिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालय परिसरको खाली ठाउँमा उक्त बिरुवा रोपिएको हो । पर्यावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय रुकुम पश्चिमले जनाएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको निर्णय अनुसार वृक्षारोपण गरिएको कार्यालयको भनाई छ ।
वृक्षारोपण कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका उपप्रमुख देवबहादुर विक, मुसिकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुन र प्रमुख जिल्ला अधिकारी निसानराज गौतमको विशेष उपस्थिति रहेको थियो ।
त्यसै गरी सुरक्षा निकाय, डिभिजन वन कार्यालयका प्रमुख तथा अन्य कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, राजनीतिक दल, पूर्व विव्यस तथा शिक्षक अभिभावक सङ्घ, अभिभावक, शिक्षक तथा वडावासीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका वक्ताहरूले रोपिएका बिरुवाहरूको संरक्षणमा विद्यालय परिवार र स्थानीय समुदायले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए । वृक्षारोपणका लागि विद्यालयलाई छनोट गरिएको भन्दै धन्यवाद दिनुका साथै रोपिएका बिरुवाको संरक्षणमा ध्यान दिने विद्यालयले प्रतिबद्धता जनाएको छ ।





-1759842583.jpg)