Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा ९ जना फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम अदालतको फैसला कार्यान्वयनमा केन्द्रित भएको छ । विभिन्न कसुरमा अदालतबाट दोषी करार भई फरार रहेका प्रतिवादी तथा अनुसन्धानका क्रममा रहेका फरारलाई पक्राउमा विशेष ध्यान दिइएको प्रहरीले जनाएको छ । 

रुकुम जिल्ला अदालत मुसिकोट रुकुमबाट विभिन्न मिति र फैसला बमोजिम विभिन्न मुद्दामा कैद तथा जरिवाना भई हालसम्म फरार रहेका ९ जना प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय रुकुम र मातहत प्रहरी कार्यालयहरूबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरी अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ । पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दाका २ जना रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूलाई ९ वर्ष, एक महिना, २५ दिनको सजाय तोकिएको थियो । 

त्यस्तै पक्राउ पर्ने अन्यमा सवारी ज्यानका १ जना रहेका छन् । उनलाई १ हजार जरिवानाको फैसला भएको थियो । १ हजार १ सय ६० रुपैयाँ जरिवाना सजाय फैसला भएका जालसाजका १ जना, ३ हजार जरिवाना फैसला भएका चेक अनादर मुद्दाका १ जना र १२ हजार जरिवाना फैसला भएका अभद्र व्यवहार मुद्दाका १ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक पुनले जानकारी गराउनुभयो । 

त्यस्तै अनुसन्धानका क्रममा रहेका आपराधिक विश्वासघात गर्न नहुने मुद्दाका ३ जनालाई पनि पक्राउ गरिएको उहाँले बताउनुभयो । उनीहरु वैशाख र जेठ महिनामा पक्राउ परेका हुन् । फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादी पक्राउका लागि विशेष रूपमा लागिएको जिल्ला प्रहरी कार्यालयको भनाई छ ।

प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update