रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ को ठुली दह यति बेला हेर्न लायक छ । विशेष गरी बर्खा याममा धेरै जना पुग्ने यस ठाउँमा हाल प्रि मनसुनको समयमा पनि धेरै जना पुगिरहेका छन् । ठुली दह यति बेला हरियाली छ । केही दिन अघिसम्म फूल फुलेर सेताम्मे थियो । फुल फुलेर दह सुन्दर बनेपछि ठुली दह पुग्नेहरूको संख्या बढेको थियो । तर केही दिन अघि परेको असिनाले फूलमा क्षति गरेपछि भने हाल फूल छैनन् । ठुली दह पुगेकाहरूले जथाभाबी फूल टिप्दा पनि फूल सकिँदै गएका हुन् ।
तर अहिले पनि ठुली दह पुग्नेहरूको संख्यामा कमी आएको छैन । विशेष गरी ठुली दहको सुन्दरता नियाल्न, फोटो तथा भिडियो खिच्न सयौँको भिड लाग्ने गरेको छ । विशेष गरी जेठ १४ गतेदेखि आइतबारसम्म सार्वजनिक बिदा परेका कारण पनि धेरै जना ठुली दहमा पुगेका हुन् । रुकुम पश्चिमका विभिन्न ठाउँबाट मात्र नभई रुकुम पूर्व र अन्य छिमेकी जिल्लाहरूबाट समेत मानिसहरू ठुली दह पुगिरहेका छन् । पछिल्ला दिनहरूमा दैनिक करिब ५ सयको हाराहारीमा मान्छेहरू पुग्ने गरेको स्थानीयको भनाइ छ ।
केही वर्ष अघि सम्म गुमनाम रहेको ठुली दहमा पछिल्ला वर्षहरूमा भने हजारौँ मानिसहरू पुग्ने गरेका छन् । मानिसको चाप बढेपछि ठुली दहमा प्रदूषण समेत बढ्न थालेको छ । ठुली दह पुग्नेहरूले विभिन्न खानेकुरा लैजाने र खाना खाएर फोहोर जथाभाबी फाल्नाले ठुली दहमा यत्र तत्र फोहोर थुप्रिन थालेको छ । जसले गर्दा प्रदूषण बढेको हो भने स्थानीय चिन्तित बनेका छन् । उक्त ठाउँ चरिचरणका लागि समेत साँखवासीकाे प्रमुख स्थल भएकोले फोहोरका कारण वातावरण सँगै पशु चौपायामा समेत असर पर्ने भन्दै स्थानीय चिन्तित बनेका हुन् ।
यसमा स्थानीय तह तथा सरोकारवालाको ध्यान जान सकेको देखिँदैन । जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाबाट नजिकै रहेकोले यो क्षेत्र सबैको गन्तव्य बन्दै गएको हो । ठुली दहसम्म पुग्न बैरी दहबाट पैदल सहजै पुग्न सकिन्छ । ठुली दह सम्म सवारी मार्फत पुग्न सकिन्छ भने त्यसपछि करिब पौने घण्टाको पैदल यात्रामा ठुली दह पुग्न सकिन्छ । ठुली दहसम्म पुग्न राम्रो पैदल मार्ग छ भने खोल्सामा पुल समेत भएका कारण आवागमनमा सहजता छ ।





-1759842583.jpg)