Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रथम मुसिकोट बहु विषयक राष्ट्रिय सम्मेलन ‘भव्य’ रूपमा सम्पन्न

रुकुम पश्चिममा “प्रथम मुसिकोट बहु विषयक राष्ट्रिय सम्मेलन” सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा खलङ्गा बहुमुखी क्याम्पसको आयोजनामा सुरु भएको दुई दिने सम्मेलन सम्पन्न भएको हो । 

शुक्रवार र शनिवार मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसमा सञ्चालनमा भएको सम्मेलनमा अनुसन्धानकर्ता, शिक्षाविद् तथा प्राज्ञिक व्यक्तित्वहरूले अनुसन्धानमूलक प्रतिवेदन पेस गरेका थिए । 

“कर्णालीमा समावेशी र गुणस्तरीय शिक्षाको प्रवर्द्धन उच्च शैक्षिक संस्थाहरूको भूमिका” भन्ने मूल विषयसहित भएको सम्मेलनले कर्णाली प्रदेशको शिक्षा क्षेत्रका चुनौती, सम्भावना र सुधारका उपायमाथि बहस सिर्जना गरेको छ । 

सम्मेलनमा १ सय १ जनाले अनुसन्धानमूलक प्रतिवेदन पेस गरेको सम्मेलन संयोजक तथा निवर्तमान क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतमले जानकारी दिनुभयो । जसमध्ये ४० जनाले भौतिक रूपमा उपस्थित भएर आफ्नो प्रतिवेदन पेस गरेका हुन् भने बाँकीले भर्चुअल माध्यमबाट सहभागिता जनाएको उहाँले बताउनुभयो । 

सम्मेलनमा सहभागिताका लागि १ सय २३ जनाले नाम दर्ता गराएकामा २३ जना भने अनुपस्थित भएको उहाँको भनाई छ । सम्मेलनमा सहभागी अनुसन्धानकर्ताले शिक्षा क्षेत्रसँग सम्बन्धित खोजमूलक अध्ययन, अनुभव र नवीन अभ्यासहरू आदानप्रदान गरेका हुन् । 

यो कार्यक्रमले कर्णालीमा गुणस्तरीय शिक्षाको बहसलाई थप मजबुत बनाएको क्याम्पस प्रमुख डम्बरबहादुर खड्काले जानकारी गराउनुभयो । सम्मेलन सोचेभन्दा पनि भव्य रूपमा सम्पन्न भएको उहाँको भनाई छ । 

सहभागिता तथा विषयवस्तु एवं समग्रतामा सम्मेलन भव्य बनेको क्याम्पसले जनाएको छ । मध्यपश्चिम विश्वविद्यालयले समेत सम्मेलन भव्य बनेको भन्दै प्रशंसा गरेको क्याम्पसले जानकारी दिएको छ । 

सम्मेलनको सह आयोजकका रूपमा मुसिकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, न्यु मुनलाइट बोर्डिङ स्कुल र विजयश्वरी बोर्डिङ स्कुल रहेका थिए । मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसले पहिलो पटक राष्ट्रिय सम्मेलन आयोजना गरेको हो ।

 

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update