रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ भण्डारवनमा स्थित जनप्रिय आधारभूत विद्यालयको चार कोठे पक्की विद्यालय भवन तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण गरिएको छ । सिद्धार्थ बैङ्कको आर्थिक सहयोगमा निर्माण भएको पक्की भवन र अपाङ्गमैत्री शौचालय आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । सिद्धार्थ बैङ्कका कार्यकारी प्रमुख रामेश्वरप्रसाद वस्यालले गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टलाई विद्यालय भवनको चाबी हस्तान्तरण गर्नुभएको हो । चाबी हस्तान्तरणसँगै कार्यकारी प्रमुख बस्याल र गाउँपालिका अध्यक्ष विष्टले संयुक्त रूपमा रिबन काटेर विद्यालय भवनको उद्घाटन समेत गर्नुभयाे ।

हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा कार्यकारी प्रमुख बस्यालले शिक्षा क्षेत्रको विकासमा बैङ्कले निरन्तर काम गरिरहेकाे अबका दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । विद्यालयको भवन तथा अपाङ्गमैत्री शौचालय निर्माण गर्न बैङ्कले १ करोड आर्थिक सहयोग गरेको उहाँको भनाई छ । विद्यालयको शैक्षिक पूर्वाधार सुदृढ गर्ने उद्देश्यले सिद्धार्थ बैङ्कले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त विद्यालय भवन र शौचालय निर्माण गरेको बैङ्कले जनाएको छ ।
नवनिर्मित चार कोठे विद्यालय भवनसँगै अपाङ्गमैत्री शौचालय निर्माण भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले थप व्यवस्थित, सुरक्षित तथा सुविधा सम्पन्न वातावरणमा अध्ययन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
विद्यालय भवन तथ अपाङ्गमैत्री शौचालय निर्माण भएकाले विशेष गरी अपाङ्गता भएका विद्यार्थीहरूका लागि समेत सहज पहुँच सुनिश्चित भएको वडा अध्यक्ष टेकबहादुर पुनले बताउनुभयो । ग्रामीण क्षेत्रका विद्यालयमा गुणस्तरीय शैक्षिक पूर्वाधार निर्माणले शिक्षाको स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ । निजी क्षेत्र र वित्तीय संस्थाहरूको यस्ता सामाजिक लगानीले शिक्षा क्षेत्रको विकासमा सकारात्मक योगदान पुर्याउने वडा अध्यक्ष पुनले बताउनुभयो ।
स्थानीयवासी तथा विद्यालय परिवारले पनि सिद्धार्थ बैङ्कको सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ भवनले विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार गर्न तथा विद्यालयको समग्र शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
विद्यालय भवन तथा अपाङ्गमैत्री शौचालयकाे निर्माण कार्य गत वर्षको जेठ महिनामा सुरु भएको थियो । निर्माण कार्य केही महिना अघि सम्पन्न भए पनि औपचारिक रूपमा आज हस्तान्तरण गरिएकाे सिद्धार्थ बैङ्कले जनाएको छ ।
२०८० साल कार्तिक १७ गतेको भूकम्पले क्षति पुर्याएपछि उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अस्थायी सिकाई केन्द्रबाट पठनपाठन गराउँदै आइएको थियो । भवन हस्तान्तरण कार्यक्रममा पालिका उपाध्यक्ष कमला रोका, सिद्धार्थ बैङ्क मुसिकोट शाखाका कर्मचारी लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।





-1759842583.jpg)