Kakhara सबैको खबर सम्पूर्ण खबर
गौतम बन्धु राष्ट्रिय समाज रुकुम पश्चिम जिल्ला समन्वय समितिको बैठक सम्पन्न 

गौतम बन्धु राष्ट्रिय समाज रुकुम पश्चिम जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ । आज मुसिकोट खलङ्गामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । 

बैठकले सुरुका गौतम हाल मल्ल, शाही, शाहसम्म विभाजन भएकोले सबैको गोत्र अत्रि नै भएकोले अत्रि गोत्रका सबै सगोत्रीहरुलाई एकीकृत गरी सकेसम्म सबैलाई गौतम बन्धु राष्ट्रिय समाज जिल्ला कार्यसमितिमा आबद्ध गराउने निर्णय गरेको छ । 

बैठकले गौतमहरूको वंशावली प्रकाशन गर्ने आफूहरूको मुख्य उद्देश्य रहेको भन्दै वंशावली सङ्कलनका लागि जिल्लाका विभिन्न ठाउँमा सङ्कलक तोकेको छ । आठबिसकोट राडी, जाजरकोट डाँडागाउँ र बारेकोटका लागि दीपक केसी, चौरजहारी लहरेसिमल, आठबिसकोट गोतामेगाउँ र कोटजहारीका लागि निराकरण गौतमलाई जिम्मा दिइएको छ । 

त्यस्तै त्रिवेणी गाउँपालिकाको रिठ्याङको लागि रामबहादुर केसी र आठबिसकोट गोतामकोटका लागि नौलु जैसीलाई वंशावली सङ्कलकको जिम्मा तोकिएको अध्यक्ष ओमबहादुर केसीले जानकारी दिनुभयो । साथै बैठकले सदस्यता वितरण समेत गर्ने भएको छ । 

समाजका जिल्ला समन्वय समिति र सल्लाहकार समितिका सबैले तत्काल आजीवन सदस्यता लिने र अन्य इच्छुक गौतम बन्धुहरू र अत्रि गोत्रीय बन्धुहरुलाई साधारण तथा आजीवन सदस्यताका लागि अनुरोध गर्ने निर्णय भएको अध्यक्ष खत्रीले बताउनुभयो । 

अत्रि गोत्रीय बन्धुहरूबिचमा सामूहिक भोज लगायतका सम्मिलनका कार्यक्रमहरू गर्ने, कुल देवता र कुल पूजामा एकरूपता ल्याउने र सकेसम्म एकै दिनमा कुल पुज्ने तथा कुल देउता एउटै पुज्ने समेत निर्णय भएको छ । 

साथै जिल्ला अध्यक्ष खत्री संयोजक रहेको ५ सदस्यीय सचिवालय पनि गठन गरिएको छ । त्यस्तै समाजले रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न आउनुभएका निशानराज गौतमलाई उहाँकै कार्यकक्षमा गएर स्वागत समेत गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update