Kakhara सबैको खबर सम्पूर्ण खबर
ऐतिहासिक मौराखारा मेला सम्पन्न
फाइल फाेटाे ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अग्लो ठाउँ तथा धार्मिक–पर्यटकीय गन्तव्य मौराखारा लेकमा लागेको ऐतिहासिक मौराखारा मेला भव्य रूपमा सम्पन्न भएको छ । जेठ पूर्णिमाको अवसरमा लागेको मेला आइतबार सकिएको हो । मौराखारा मेला व्यवस्थापन समितिको आयोजनामा सम्पन्न मेलामा जिल्लाका विभिन्न स्थानबाट स्थानीयवासी, पर्यटक तथा सांस्कृतिक समूहहरूको सहभागिता रहेको थियो ।

मेलामा छेलो प्रतियोगिता तथा सांस्कृतिक समूहहरूले आफ्नो प्रस्तुति राखेका थिए । छेलो प्रतियोगितामा सानीभेरी गाउँपालिका–३ का घनश्याम पुन प्रथम, आठबिसकोट नगरपालिका–१४ का राजेन्द्र बिटालु दोस्रो, सानीभेरी–४ का नवराज केसी तेस्रो तथा सानीभेरी–३ कै अर्जुन केसी सान्त्वना स्थान हासिल गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार रुपैयाँ, दोस्रोलाई १० हजार रुपैयाँ, तेस्रोलाई ६ हजार रुपैयाँ तथा सान्त्वना हुनेलाई ४ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । छेलो प्रतियोगितामा २२ जनाको सहभागिता रहेको थियो । 

मेलामा सांस्कृतिक समूह अन्तर्गत सानीभेरी–३ भलाचौरको पैसेरु तथा सिँगारु सांस्कृतिक समूह, सानीभेरी–५ हाँसुको हाँसु सांस्कृतिक समूह, आठबिसकोट–१४ को ज्यामिरकोट सांस्कृतिक समूह, उच्च शीतल पोखरी समूह, ठकुरी समाज पञ्चेबाजा समूह तथा सानीभेरी–६, कोटगाउँको झरना रमाइलो आमा समूहले आकर्षक सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । सांस्कृतिक विविधता संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले सहभागी सबै झाँकी तथा सांस्कृतिक समूहलाई सम्मान स्वरूप समान ५/५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजक  जनाएको छ ।

प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र पर्यटकीय सम्भावनाले भरिपूर्ण मौराखारा क्षेत्रमा मेलाका सहभागीहरूले लेकको मनोरम दृश्यसँगै जनयुद्ध कालमा निर्माण गरिएका ऐतिहासिक बङ्करहरूको समेत अवलोकन गरेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update