रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ को डम्मानाममा साझा गोठ निर्माण सम्पन्न भएको छ । गोठ निर्माण संगै उद्घाटन समेत गरिएको छ । विशेष गरी लेकमा जाने स्थानीयको सहजताका लागि वडाको सिरानमा पर्ने डम्मानामा साझा गोठ निर्माण भएको हो ।
साथै पर्यटन प्रवर्द्धनमा समेत यसले टेवा पुग्ने विश्वास गरिएको छ । स्यार्पू सिस्ने ट्रेकिङ रुटमा पर्ने यस गोठले पर्यटकहरूको आवास सुविधाको लागि टेवा पुग्ने र यसले पर्यटन प्रवर्द्धनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।
हाल अमेरिकामा रहनुभएका राकेश केसीको पहलमा गोठ निर्माण गरिएको हो । उहाँको नेतृत्वमा गोठ निर्माणका लागि सहयोग सङ्कलन गरिएको थियो । अमेरिका तथा विभिन्न ठाउँमा रहनुभएका व्यक्तिहरूले गोठ निर्माणका लागि सहयोग गर्नुभएको केसीले बताउनुभयो ।
विशेष गरी लेकाली क्षेत्रमा निगालाका टुसा, च्याउ, साग, सिस्नो, डोका, मान्द्राका लागि चोया ल्याउन जानेहरूलाई घाम, पानी तथा चिसोबाट जोगाउन र बास बस्नुपरेमा बासका लागि सहज होस भनेर सहयोग जुटाएर करिब २ लाख रकममा गोठ निर्माण गरिएको केसीले बताउनुभयो ।
गोठका लागि केसीको पहलमा अमेरिकामा सहयोग सङ्कलन भएको थियाे । गोठका लागि तुलवीर बोहरा र ज्ञानेन्द्र बोहराले १२०/१२० डलर, पूर्णबहादुर ओली र दीपक बोहराले १००/१०० डलर, सिताराम केसी, दीपक केसी, लोकेश देवकोटा र विवेक बोहराले ५५/५५ डलर सहयोग गर्नुभएको छ ।
त्यस्तै केशव बोहरा, आशिष् पौडेल, नवीन खड्का, दीपक देवकोटा, दीपक केसी, नवराज ओली, चिन्तामणि ओली, रामप्रसाद देवकोटा र भीम रिजालले ५०/५० डलर सहयोग गरेको पहलकर्ता केसीले जानकारी गराउनुभयो ।
आफ्नो गाउँ ठाउँका लागि केही गरौँ भन्ने सोचका साथ गोठ निर्माण गरिएको र यसले स्थानीयको आर्थिक उपार्जनमा टेवा पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो । यसमा स्थानीयले श्रमदान समेत गरेका थिए ।
स्थानीय समेत रहनुभएका पर्यटनकर्मी गोपाल केसीले यो गोठले पर्यटकहरूलाई आवासको लागि प्रत्यक्ष फाइदा पुग्ने बताउनुभयो । उहाँका अनुसार भवनले स्यार्पू सिस्ने ट्रेकिङ रुटका लागि आउने तथा अन्य दृश्यावलोकनका लागि आउने पर्यटकहरूलाई सहज हुनेछ ।
एक कार्यक्रमका बिच गोठको उद्घाटन गरिएको हो । सामुदायिक गोठ निर्माण समितिका संयोजक वृद्धि केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष तिलवीर केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
अर्जुन केसीको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा पर्यटनकर्मी गोपाल केसी, स्यार्पुताल माविका प्रधानाध्यापक चुमानसिंह बोहरा, स्थानीय अगुवाहरू पूर्णबहादुर केसी, धनबहादुर मल्ल र धनबहादुर बुढाको आतिथ्यता रहेको थियो । पर्यटनकर्मी यज्ञ चन्दले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा भवन निर्माण समितिका सचिव प्रकाश केसीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
उद्घाटनको अवसरमा स्थानीय महिला समूहद्वारा स्वागत गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।





-1759842583.jpg)