Kakhara सबैको खबर सम्पूर्ण खबर
प्याड बनाउने तालिम सहित विभिन्न कार्यक्रम सञ्चालन 

कर्मफ्लाइट्स फाउन्डेसन नेपाल मार्फत समुदायमा आधारित विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन् । पोखराको खपौदीमा अवस्थित मत्स्य सभाहलमा जलारी समूहका १० जना महिलालाई एक दिने हस्त निर्मित पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड निर्माण तामिल प्रदान गरेको छ । 

जलारी समुदायका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले एक दिने हस्त निर्मित पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड  सिलाई तामिल प्रदान गरिएको कार्यक्रमका प्रशिक्षक निथोई विकले बताउनुभयो ।

प्रशिक्षक विकले भन्नुभयो–‘समाजमा पिछडिएका समुदायका महिलाको समस्यालाई मध्यनजर गरेर यो महिनावारी स्वच्छता र प्याड सिलाइ तालिम प्रदान गरिएको छ । यसले समुदायका महिलामा महिनावारी सम्बन्धी सचेतना तथा सिकाइमा आत्मनिर्भरता हुन प्रेरित गर्नेछ ।’

जलारी सङ्घका अध्यक्ष ज्ञान जलारीले यो कार्यक्रमले समुदायका महिलामा सीप सिक्ने र आफैले पनि त केही गर्न सकिने रहेछ भन्ने राम्रो पाठ सिकाएको बताउनुभयो । संस्थाका सचिव सूर्य जलारीले यस्तो महिला लक्षित तालिमले महिलालाई अझ सशक्तीकरण गर्ने बताउनुभयो ।

एक दिने हस्त निर्मित पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड  सिलाई तामिलका प्रशिक्षकहरूमा निथोई विक, पार्वती गुरुङ, दुर्गा थापा र भावना पुन मगर रहनुभएको थियो । 

त्यस्तै कर्मफ्लाइट्स फाउन्डेसन नेपालको ‘लैङ्गिक समानता तथा सामाजिक पहल’ सम्बन्धी सचेतना तालिम कास्की जिल्लाको याङ्जाकोटको सीताराम माविमा एक हप्ते कार्यक्रम पनि सम्पन्न भएको छ । 

कार्यक्रमका अवसरमा वडा कार्यालय, विद्यालय व्यवस्थापन समिति तथा समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । मादी गाउँपालिका–३, याङ्जाकोटका वडा कार्यालय सचिव बलराम सापकोटाले कार्यक्रमले समुदायमा महिनावारी स्वच्छता, लैङ्गिक समानता, महिला स्वास्थ्य तथा वातावरण संरक्षण सम्बन्धी सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको थियो । 

उहाँले विशेष गरी पुनः प्रयोग योग्य कपडा प्याडको प्रयोगले प्लास्टिकजन्य फोहोर न्यूनीकरण गरी वातावरण संरक्षणमा सकारात्मक योगदान पुर्‍याउने उल्लेख गर्दै महिलाहरू तथा किशोरीहरूका लागि यस्ता व्यवहारिक तथा सचेतनामूलक कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताउनुभयो ।

 वडा सदस्य दिपा गुरुङले कार्यक्रम महिलाहरूको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको बताउँदै अपाङ्गता भएका महिला तथा किशोरीहरूको समावेशी सहभागितालाई विशेष महत्त्व दिइएकोमा प्रशंसा व्यक्त गर्नुभयो । उहाँले पुनःप्रयोग योग्य कपडा प्याडको प्रयोगले महिनावारीजन्य फोहोर व्यवस्थापनमा सहयोग पुग्ने तथा वातावरणीय प्रदूषण कम गर्न सकारात्मक प्रभाव पार्ने बताउनुभएको थियो ।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शङ्कर प्रसाद गुरुङले कर्मा फ्लाइट्स फाउण्डेशनप्रति धन्यवाद व्यक्त गर्दै यस तालिम तथा सचेतना कार्यक्रमले विद्यार्थीहरूको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो । 

कार्यक्रममा जे.इ.एस.ए कार्यक्रम अफिसर सौगात अधिकारी र एम.एच.एम. कार्यक्रम अफिसर निथोइ विक विभिन्न सेसन सञ्चालन गर्नुभएको थियो । 

त्यस्तै रुकुमको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं ५ काजरजङका २६ जना महिला तथा पुरुष अगुवाहरूलाई १ हप्ते ‘लैङ्गिक समानता तथा सामाजिक अभियान’ का विभिन्न विषयमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम पनि प्रदान गरिएको छ । 

कार्यक्रम जे.इ.एस.ए. अफिसर कर्मसही घर्ती मगरद्वारा उक्त कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा निवर्तमान वडा सदस्य लक्षिणकुमार बुढाले विकट गाउँका बासिन्दालाई गाउँमै आएर महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गरेकोमा कर्मफ्लाइट्स फाउन्डेसन नेपाल र यो जे.इ.एस.ए कार्यक्रमलाई विशेष धन्यवाद दिनुभएको थियो । 

यस कार्यक्रमले समाजमा रहेका गलत संस्कारको परिमार्जन गर्न र परिष्कृत गर्न जरुरी रहेको सन्देश दिएको कुरा बताउनुभयो ।

 

 

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update