रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबाट ठुलो मात्रामा अफिम सहित ४ जना पक्राउ परेका छन् । भेरी कोरिडोर अन्तर्गत आठबिसकोट नगरपालिका १४ छेपारेबाट जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले १० केजी १ सय ६० ग्राम अफिम सहित ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २ जना जाजरकोट र बाँकेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार जाजरकोट नलगाड नगरपालिका वडा नम्बर ३ कैन बस्ने अन्दाजी २८ वर्षीय खड्क पुन र सोही स्थानका अन्दाजी ३० बर्सिया बृहस्पति पुन थापा पक्राउ परेका हुन् ।
त्यस्तै बाँकेको कोहलपुर नगरपालिका २ शान्तिनगर बस्ने अन्दाजी ३६ वर्षीय रामबहादुर सार्की र सोही ठाउँका अन्दाजी १८ वर्षीय सुरज विकलाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो ।
जाजरकोटको कालीमाटीबाट नेपालगन्ज तर्फ जाँदै गरेको लु २ ख ५१९५ नम्बर फोर्स गाडीबाट १० किलो १ सय ६० ग्राम अफिम सहित उनीहरूलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । चेकजाँचका क्रममा गाडीको पछाडि डिक्कीमा बेसारको बोरामा १० वटा पोकामा राखेर लैजाँदै गरेको अफिम फेला परेको उहाँले जानकारी गराउनुभयो ।
इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चापागाईँको कमान्डमा खटिएको टोलीले उक्त मात्रामा अफिम फेला पारेको हो । उक्त अफिम बरामद गरी ४ जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरूलाई सोमबार जिल्ला अदालतबाट म्याथ थप गरेर हिरासतमा राखिएको र अनुसन्धान थालिएको प्रहरीको भनाई छ । लागू पदार्थ नियन्त्रणमा यो ठुलो सफलता रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी वेदबहादुर पौडेलले बताउनुभयो । प्रहरीको चलाखी र सूक्ष्म अनुसन्धानबाट यति ठुलो परिमाणमा अफिम बरामद गर्न सफल भएको र यो लागू औषध नियन्त्रणका लागि महत्त्वपूर्ण सफलता भएको उहाँले बताउनुभयो ।





-1759842583.jpg)