रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा विद्यालय स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको वास इकाइको आयोजनामा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको हो । “स्वच्छ पानी र स्वच्छताः सभ्य समाजको पहिचान” शिर्षकमा वक्तृत्वकला आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा त्रिवेणी गाउँपालिकाभित्रका माध्यमिक विद्यालयका कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा प्रत्येक विद्यालयबाट १ जना छात्र र १ जना छात्रा गरी २ जना विद्यार्थी सहभागी हुन सक्ने त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिता जेठ २४ गते आइतबार बिहान १० बजे त्रिवेणी गाउँपालिकाको सभाहल, खारनेटामा सञ्चालन हुनेछ । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई नगद पुरस्कारको व्यवस्था समेत गरिएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ हजार, द्वितीय हुनेलाई ६ हजार र तृतीय हुनेलाई ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । सहभागी विद्यार्थी तथा प्रत्येक विद्यालयबाट एक जना शिक्षकलाई यातायात खर्च समेत उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमलाई शिक्षा, युवा तथा खेलकुद शाखाले सहजीकरण गर्नेे छ । विद्यालयस्तरबाटै स्वच्छ पानी, सरसफाइ र स्वच्छता सम्बन्धी चेतना विस्तार गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।





-1759842583.jpg)