Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटका १३५ विद्यार्थीलाई वर्षभरि पुग्ने शैक्षिक सामग्री प्रदान

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा रहेको आमा बाबु स्मृति प्रतिष्ठान छात्र वृत्ति अक्षयकोषबाट पालिकाका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ । ८ वर्ष अघि स्थापना भएको कोषबाट आज वीरेन्द्र मावि बाँफिकोटमा एक कार्यक्रमको आयोजना गरी पालिकाका ४२ विद्यालयका जेहनदार, विपन्न, सहिद परिवार, टुहुरा र अपाङ्ग विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो । 

१ सय ३५ जना विद्यार्थीहरूलाई शिक्षा वर्ष भरी पुग्ने कापी, कमल, झोला, पोसाक, ज्यामिति बक्स र टिफिन बक्स प्रदान गरिएको कोषका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो । साथै एसइई परीक्षामा ए प्लस ल्याएर उत्तीर्ण हुने १० जना विद्यार्थीलाई जनही २ हजारले पुरस्कृत गरिएको उहाँले बताउनुभयो । 

aama-buwa-(3)-1780400897.jpg
कोषको लाभांशबाट छात्रवृत्ति प्रदान गरिएको उहाँको भनाई छ । यस वर्ष ६ लाख ६९ हजार रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो । उहाँका अनुसार अब कोषमा ४१ लाख रुपैयाँ रहेको छ । कोषको साँवा मार्फत आएको ब्याजबाट हरेक वर्ष पालिकाका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने गरिएको छ । त्यस्तै कोषबाट अन्य सामाजिक तथा शैक्षिक विकासका कार्यक्रमहरू भइरहेका छन् । 

आर्थिक अभावका कारण कुनै पनि बालबालिकाले विद्यालय छाड्न नपरोस् भन्ने उद्देश्यले देश तथा विदेशमा रहेका व्यक्तिहरूबाट सहयोग जुटाएर कोष स्थापना गरिएको अध्यक्ष केसीले बताउनुभयो । समग्र शैक्षिक उन्नयनका लागि कोष बनाइएको र सोही अनुसार काम भएको उहाँको भनाई छ । १ वर्ष कोरोना महामारीका कारण छात्रवृत्ति प्रदान गर्न नसकिएकामा हालसम्म ७ वर्ष छात्रवृत्ति प्रदान भइसकेको उहाँले बताउनुभयो । 

aama-buwa-(4)-1780400897.jpg
कोषका अध्यक्ष केसीको अध्यक्षतामा भएको छात्रवृत्ति प्रदान कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सदस्य ठगेन्द्रप्रकाश पुरीको प्रमुख र गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासविक्रम शाह, लेखा अधिकृत तेजबहादुर डाँगी, गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख चिरञ्जीवी रेग्मीको आतिथ्यता रहेको थियो । 

नेपाली कम्युनिस्ट पार्टीका पालिका अध्यक्ष दक्ष पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका कर्णबहादुर खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व जिल्ला अध्यक्ष विनोदकुमार शाह लगायतको पनि आतिथ्यता रहेको थियो । कोषका सदस्य शशीराम दाहालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कोषका सदस्य सचिव तथा वीरेन्द्र माविका प्रधानाध्यापक हरिचन्द्र गिरीले गर्नुभएको थियो ।

aama-buwa-(1)-1780400896.jpg

aama-buwa-(2)-1780400896.jpg

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update