रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा आगामी आर्थिक वर्ष साउन देखि ग्रामीण स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना (आरएचएसएसपी) सञ्चालन हुने भएको छ । नगरपालिकाले अमेरिकास्थित निक साइमन फाउन्डेसन इन्टरनेशनल (एनएसएफआई) सँग उक्त परियोजना सञ्चालनका लागि सम्झौता भएको हो । परियोजना आगामी आर्थिक वर्षको साउन १ गतेदेखि कार्यान्वयनमा आउने आठविसकोट नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार परियोजनाअन्तर्गत नगर अस्पतालमा सामान्य चिकित्सकीय अभ्यासमा स्नातकोत्तर (एमडीजीपी) चिकित्सक, चिकित्सा अधिकृत, नर्स तथा विभिन्न तहका प्यारामेडिक्स स्वास्थ्यकर्मी नियुक्त हुनेछन् । यससँगै अस्पतालमा शल्यक्रिया सेवा, आपतकालीन स्वास्थ्य सेवा तथा विस्तृत आपतकालीन प्रसूति तथा नवजात शिशु स्याहार सेवा (सिईओएनसी) सञ्चालन हुने उहाँको भनाई छ । सम्झौताअनुसार पाँच वर्षसम्म सञ्चालन हुने यस परियोजनामा करिब सात करोड पचास लाख रुपैयाँ लगानी हुने छ ।
परियोजनाले विशेषगरी ग्रामीण क्षेत्रका गर्भवती महिला तथा नवजात शिशुलाई गर्भावस्थादेखि जन्मपछिसम्म आवश्यक स्वास्थ्य सेवा प्रभावकारी रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ । परियोजना कार्यान्वयन भएपछि मातृ तथा नवजात शिशु मृत्यु दरमा कमी आउने, उपचारका लागि बाहिरका अस्पतालमा बिरामी पठाउनुपर्ने अवस्था न्यून हुने तथा स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ । साथै यसले नगर अस्पतालको सेवा क्षमता विस्तार गरी समग्र स्वास्थ्य प्रणाली सुधारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । आठबिसकोट नगरपालिकाका लागि स्वास्थ्य क्षेत्रको यो परियोजना हत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ, जसबाट हजारौँ नागरिक प्रत्यक्ष लाभान्वित हुने आठबिसकोट नगरपालिकाले अपेक्षा गरेकाे छ ।





-1759842583.jpg)