राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रुकुम पश्चिम मुसिकोटको प्रथम अधिवेशन शेरिगाउँमा सम्पन्न भएको छ । १५ सदस्यीय नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको रास्वपा रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगर सभापतिमा बिरबल केसी सर्वसम्मत निर्वाचित हुनुभएको छ । उहाँ यसअघि नेपाली काँग्रेसमा सक्रिय हुनुहुन्थ्यो । पार्टीको विभिन्न जिम्मेवारी सम्हालिसक्नुभएका उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट मुसिकोट १ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
त्यस्तै उप सभापतिमा पतिराम रोका, सचिवमा राजन विक, सह सचिवमा हरिगोपाल खड्का र कोषाध्यक्षमा रमा पुन निर्वाचित भएको जिल्ला सभापति शाहीले जानकारी दिनुभयो । यो सँगै जिल्लाका सबै पालिकाका अधिवेशन सम्पन्न भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार अब जेठ २४ गते मुसिकोटमा जिल्ला अधिवेशन हुने छ । पदम ददेलको अध्यक्षतामा भएको अधिवेशनमा रास्वपा कर्णाली प्रदेशका उपसभापति प्रेम बोहराको प्रमुख र महासचिव ललित चन्दको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन दीपेन्द्र विष्टले गर्नुभएको थियो । गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा झन्डै २ तिहाइको बहुमत प्राप्त गरेपछि रास्वपाले रुकुम पश्चिममा पनि सङ्गठन निर्माणमा तीव्रता दिएको हो ।
जिल्लामा रास्वपा प्रवेश गर्नेहरूको लहर नै चलेको छ । विभिन्न पार्टीमा सक्रियहरू नै अहिले रास्वपामा प्रवेश गरिरहेका छन् ।





-1759842583.jpg)