Kakhara सबैको खबर सम्पूर्ण खबर
ठुली दहमा सरसफाइ 

रुकुम पश्चिमको पर्यटकीय स्थल ठुली दहमा सरसफाइ गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा पर्ने ठुली दहमा विश्व वातावरण दिवसको अवसर पारी शुक्रवार सरसफाइ गरिएको हो । 

मुसिकोट नगरपालिका वडा नम्बर ७ को कार्यालय र स्थानीय हाम्रो सरोकारको संयुक्त आयोजनामा दह क्षेत्रमा सरसफाइ गरिएको हो । दह क्षेत्रमा जथाभाबी फालिएका फोहोरलाई व्यवस्थापन गरिएको हाम्रो सरोकारका महासचिव प्रकाश विकले जानकारी दिनुभयो । 

घुम्न गएकाहरूले जथाभाबी फोहोर फालेपछि ठुली दहमा ठुलो मात्रामा फोहोर थुप्रिएको थियो । जसका कारण ठुली दहमा प्रदूषण फैलिन थालेको थियो भने ठुली दहको सुन्दरता कुरूप बन्न थालेको थियो । यसको सर्वाधिक आलोचना समेत भएको थियो । 

ठुली दह पुगेको वडा, क्लब, वन समूह, विद्यालय तथा नेपाली सेनाको टोलीले ठुली दहमा थुप्रिएका फोहोरलाई जम्मा गरेर व्यवस्थापन गरेको महासचिव विकको भनाई छ । प्लास्टिकजन्य फोहोरलाई जलाइएको उहाँले बताउनुभयो । 

साथै वडा कार्यालयले ५ वटा डस्टविन राखिदिएको छ । फोहोर व्यवस्थापनमा सहज होस भन्ने उद्देश्यले दह क्षेत्रमा ठाउँ ठाउँमा ५ वटा डस्टविन राखिएको वडा कार्यालयले जनाएको छ । ठुली दह पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएपछि त्यहाँ फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिएको छ । 

अहिले तत्काललाई जम्मा भएको फोहोर व्यवस्थापनका साथै अबका दिनमा फोहोर व्यवस्थापनका लागि सानो संख्यामा भए पनि डस्टबिन राखिएको वडाध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिनुभयो । यहाँ दिगो फोहोर व्यवस्थापनको आवश्यकता रहेको भन्दै उहाँले यसका लागि आगामी वर्षको बजेटमा सम्बोधनका लागि पहल भइरहेको बताउनुभयो । 

sarsaphai-1780659515.jpg
पछिल्लो समय ठुली दह क्षेत्रमा विभिन्न संरचना निर्माणले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुगेको भन्दै उहाँले अझै पनि केही काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो । ठुली दहलाई जिल्लाकै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न वडा हुँदै नगरपालिका तथा अन्य निकायले समेत काम गरिहरेको वडाध्यक्ष पाण्डेले बताउनुभयो । 

त्यस्तै उहाँले ठुली दह पुग्ने पर्यटकहरूलाई जिम्मेवार बन्न र जथाभाबी फोहोर नगर्न तथा सार्वजनिक संरचनाहरूमा क्षति नपुर्‍याउन आग्रह समेत गर्नुभएको छ । सरसफाइ कार्यक्रममा रुकुमेली समाज विकास केन्द्रले पनि सहयोग गरेको वडाले जनाएको छ । 

कार्यक्रममा वडाध्यक्ष पाण्डे सहित नगर कार्यपालिका सदस्य देवी पुन, वडा सदस्य जनकबहादुर पुन, हाम्रो सरोकारका महासचिव प्रकाश विक नेतृत्वको टोली, वडाको युगान्तकारी बोर्डिङ स्कुलका शिक्षक तथा विद्यार्थी, वन समूह, मुसिकाेट नगर प्रहरी, नेपाली सेनाको चण्डी दल गण सल्लेको टोली लगायत गरी ५० जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update