रुकुम पश्चिममा पहिलो पटक एसी स्लिपर अर्थात् सुतेर यात्रा गर्न मिल्ने बस भित्र्याइएको छ । २०८० मा स्थापना भएर सेवा दिइरहेको कमल ताल यातायात प्रालिले जिल्लामा पहिलो पटक ४ वटा एसी स्लिपर बस भित्र्याएको हो । बुटवलमा निर्माण गरिएका नयाँ बस आज जिल्ला ल्याइपुर्याइएको छ । बसलाई बाजागाजा सहित स्वागत गरिएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ५ को शेरिगाउँ देखि वडा नम्बर १ को सल्लेसम्म बाजागाजा सहित पुर्याइएको हो ।
बसलाई बेलुन लगायतले शृंगारिएको थियो भने चालक तथा गाडी स्टाफलाई अबिर तथा खादाले स्वागत गरिएको थियो । सल्लेमा एक कार्यक्रमका बिच बसको उद्घाटन समेत गरिएको छ । मुसिकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनले रिबन काटेर ४ वटै बसको संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । नयाँ बस सोमबारबाट सञ्चालनमा आउने कमल ताल यातायात प्रालिका अध्यक्ष ललितकुमार बुढाले जानकारी दिनुभयो । यी बसले रुकुम–काठमाडौँ रुटमा सेवा दिने उहाँले बताउनुभयो ।

सोमबार रुकुम देखि काठमाडौँका लागि बस छुट्ने उहाँले बताउनुभयो । त्यसपछि हरेक दिन रुकुमबाट काठमाडौँका लागि एउटा र काठमाडौँबाट रुकुमका लागि एउटा बस छुट्ने उहाँले बताउनुभयो । जिल्लावासीलाई स्तरीय बस सेवा दिने उद्देश्यले जिल्लामा पहिलो पटक स्लिपर बस भित्र्याइएको उहाँले बताउनुभयो । उहाँका अनुसार अब सुतेर तथा स्तरीय सेफा सेटमा बसेर यात्रा गर्न सकिने छ । यसले जिल्लावासीलाई यात्रामा निकै सहज हुने उहाँको भनाई रहेको छ । झन्डै साढे ४ करोड लगानीमा उक्त बस भित्र्याइएको अध्यक्ष बुढाले बताउनुभयो ।

प्रति गाडी करिब १ करोड १ लाख परेको उहाँको भनाई छ । बसाइका हिसाबले मात्र नभई व्यवहारका हिसाबले पनि स्तरीय सेवा प्रदान गर्नु प्रालिको उद्देश्य रहेको र अबका दिनमा पनि यात्रुमैत्री गुणस्तरीय सेवालाई विशेष जोड दिने उहाँले बताउनुभयो । यात्रुहरूको सुविधालाई ध्यानमा राखेर विभिन्न आकर्षक प्याकेजहरू समेत रहेको प्रालिले जनाएको छ । प्रालिका कार्यालय प्रमुख डेभिड गौतमले सुरुमा यात्रा गर्ने यात्रुहरूलाई विशेष छुटको व्यवस्था रहेको बताउनुभयो ।
त्यस्तै बिच बिचमा चिट्ठा लगायतका प्याकेज मार्फत यात्रुहरूलाई सहुलियत दिने योजना रहेको उहाँले बताउनुभयो । यसका साथै नयाँ गाडी भित्रिएपछि साढे २ सय जनाले रोजगारी समेत पाएको उहाँले जानकारी गराउनुभयो । गाडीमा स्तरीय सोफा सेट, ब्लाङकेट, एसीको सुविधा सहित सुतेर यात्रा गर्न सकिने र यसले यात्रुहरूलाई निकै नै आराम दिने चालक रेसम बोहराले बताउनुभयो ।

पानी सहित यात्रुहरूलाई अन्य सुविधाका विषयमा पनि सोचिरहेको उहाँको भनाई छ । कमल ताल यातायात प्रालिका अध्यक्ष ललितकुमार बुढाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुसिकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सुरक्षा निकाय, विभिन्न सरोकारवाला तथा प्रालिका कर्मचारी एवं स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।






-1759842583.jpg)