Kakhara सबैको खबर सम्पूर्ण खबर
देश जटिल अवस्थामा छः राष्ट्रिय सभा सदस्य रोकाय

राष्ट्रिय सभाका सदस्य कृष्णबहादुर रोकायले देश जटिल अवस्थामा रहेको बताउनुभएको छ । नेपाल नेत्र ज्योति सङ्घ रुकुम पश्चिमको पाँचौँ जिल्ला सभालाई मुसिकोटमा सम्बोधन गर्दै उहाँले वर्षौँको त्याग र बलिदानीबाट देश अहिलेको अवस्थामा आइपुगेको बताउँदै अहिले देश जटिल अवस्थामा रहेको बताउनुभएको हो ।

उहाँले देशको प्रधानमन्त्रीले नै संसद्को रोष्टमबाट देशको हित विपरीत बोलिरहेकोले भन्दै चिन्ता व्यक्त गर्नुभयो । प्रधानमन्त्री बालेन्द्र शाह ज्युले सांसदको प्रश्नको जवाफ दिने क्रममा नेपालले भारतको भूमि मिचेको छ भन्ने जस्ता गैर जिम्मेवार अभिव्यक्तिहरू दिएको भन्दै उहाँले यसले देशको अस्तित्वमा कस्तो असर पर्छ, छिमेकी देशसँगको सम्बन्ध कस्तो हुन्छ भन्दै प्रश्न गर्नुभयो ।

सरकार प्रमुख नै गैर जिम्मेवार बन्नु दुखद रहेको उहाँले बताउनुभयो । साथै उहाँले हरेक नागरिक जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । अहिले सामाजिक सञ्जालको प्रयोग देखि अभिव्यक्ति स्वतन्त्रताका नाममा उछृंखल गतिविधिहरू भइरहेको भन्दै उहाँले समुन्नत राष्ट्र निर्माणका लागि प्रत्येक नागरिक जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

‘देश, व्यवस्था र संविधान रहे मात्र हामी रहने भन्दै उहाँले अहिले देश अत्यन्त जटिल अवस्थामा रहेको बताउनुभयो । दुवै सदन अवरुद्ध रहेको अवस्थामा आफू जिल्लावासीका समस्या बुझ्न जिल्ला आएको समेत उहाँले बताउनुभयो । जिल्लावासीका समस्यालाई लिएर अबको संसद् बैठकमा आवाज उठाउने उहाँले बताउनुभयो ।

उहाँ नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभामा निर्वाचित हुनुभएको हो ।

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update