Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्मफ्लाइट्स फाउन्डेसन नेपालद्वारा शैक्षिक सामग्री वितरण

पोखरास्थित राष्ट्रिय स्तरको सामाजिक संस्था कर्मफ्लाइट्स फाउन्डेसन नेपालले बागलुङ जिल्लाको निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, खानेपानी तथा सूचना प्रविधिसम्बन्धी विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ ।

निसीखोला गाउँपालिका–२ देउरालीस्थित अर्नाकोट माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत २५० जना विद्यार्थीलाई बृहत् शैक्षिक सामग्री वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका पूर्व सांसद तथा युनिका फाउन्डेसन र वार्मनेस्ट नेपालका कन्ट्री डाइरेक्टर रमेश पौड्यालले कार्यक्रमको उद्घाटन गरेका गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पौड्यालले विद्यालय, स्वास्थ्य र समुदायलक्षित क्षेत्रमा कर्मफ्लाइट्सले गर्दै आएको कार्यप्रति आफू अत्यन्त प्रभावित रहेको बताउनुभयो । 

उहाँले अर्नाकोट क्षेत्रमा सञ्चालन भइरहेको खानेपानी तथा सरसफाइ स्तरोन्नति परियोजनाको अनुगमनका लागि आफू, रेडक्रस र कर्मफ्लाइट्सको टोली आएको उल्लेख गर्दै आगामी केही महिनाभित्र स्थानीय समुदायले आफ्नै घरमा धारा मार्फत स्वच्छ खानेपानी पाउने विश्वास व्यक्त गर्नुभयो ।

help-(3)-1781606460.jpeg
कार्यक्रमकी अर्की अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की शाखा अन्तर्गत खानेपानी तथा सरसफाइ परियोजना शाखाकी प्रतिनिधि कल्पना ज्ञवालीले कर्मफ्लाइट्सको समन्वय, निसीखोला गाउँपालिका, युनिका फाउन्डेसन तथा स्थानीय समुदायको सहकार्यमा सञ्चालित खानेपानी तथा सरसफाइ स्तरोन्नति परियोजनाको करिब ४० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले आगामी ८–१० महिनाभित्र सबै घरधुरीमा धारा मार्फत पानी पुग्ने बताउनुभयो ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा कर्मफ्लाइट्स फाउन्डेसन नेपालका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले विद्यार्थीहरूको दीर्घकालीन शैक्षिक विकास तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । 

उहाँले आफ्नो बाल्यकालमा च्यातिएको विद्यालय पोसाक, टालेको झोला समेत नपाएर कापी–किताब हातमै बोकेर विद्यालय जानुपरेको अनुभव स्मरण गर्दै वर्तमान पुस्ताका विद्यार्थीलाई त्यस्तो हीनताबोध हुन नदिन सहयोग गरिएको बताउनुभयो ।

यसै अवसरमा प्रमुख अतिथि रमेश पौड्यालले अर्नाकोट सामुदायिक स्वास्थ्य इकाइको दिगो अक्षयकोषका लागि २ लाख ९५ हजार बराबरका १७ वटा माउ बाख्रा तथा ४५ हजार बराबरको पोषण कर्नर र्याक स्वास्थ्य इकाइका अध्यक्ष कुबिर विश्वकर्मालाई हस्तान्तरण गर्नुभयो ।

help-(3)-1781606460.jpeg
महिलाको सशक्तीकरण तथा जीविकोपार्जन कार्यक्रमअन्तर्गत सम्पन्न यस कार्यक्रमको पाँचौँ चरणमा १७ जना महिलालाई १७ वटा माउ बाख्रा वितरण गरिएको थियो । बाख्रा पालनमार्फत महिलाहरूको आयआर्जन वृद्धि, आर्थिक आत्मनिर्भरता तथा परिवारको जीवनस्तर सुधार हुने अपेक्षा गरिएको छ ।

साथै, यस कार्यक्रमले अर्नाकोट सामुदायिक स्वास्थ्य इकाई अन्तर्गत सञ्चालित सामुदायिक स्वास्थ्य इकाई तथा प्रसूति केन्द्र (सीएचयू) को दिगो सञ्चालनका लागि स्थानीय स्रोत सिर्जना गर्न पनि सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

उक्त कार्यक्रम अर्नाकोट बचत तथा ऋण सहकारी संस्था, नेपाल–इज च्यारिटी युके, एमिली बाल्सारिनी तथा फ्रेन्ड्स विथ बिगएबिलिटीको सहयोगमा सञ्चालन गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update