Kakhara सबैको खबर सम्पूर्ण खबर
सिम्रुतुबाट ब्राउनसुगरसहित दुई जना पक्राउ

रुकुम पश्चिम प्रहरीले ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । जिल्लाको त्रिवेणी गाउँपालिका २ सिम्रुतुबाट प्रहरीले ७० मिलिग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतका २९ वर्षीय कमल पुन मगर र सोही ठाउँका अन्दाजी २० को राजन पुन मगर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो ।

उनीहरूको साथबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ शुद्ध तौल ७० मिलिग्राम र भे. १२ प. ८५३० नम्बरको मोटरसाइकल बरामद गरिएको उहाँले बताउनुभयो । 

सोमबार राती ९ बजेतिर त्रिवेणी गाउँपालिका सिमुतु बजार स्थित सडक बाटोमा बिमैचा देखि सिम्रुतु बजार तर्फ आउँदै गरेको कमल पुन मगरले चलाएको भे. १२ प. ८५३० नम्बरको मोटरसाइकललाई शङ्का मानी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक र त्यसमा सवार व्यक्तिहरूबाट ब्राउन सुगर बरामद गरिएको प्रहरी निरीक्षक परियारले बताउनुभयो । 

घटनाको अनुसन्धान सुरु गरिएको र थप अनुसन्धानका लागि पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिएर हिरासतमा राखिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update