Kakhara सबैको खबर सम्पूर्ण खबर
राप्ती ज्ञानोदय मावि कर्णालीकै उत्कृष्ट विद्यालयको रूपमा सम्मानित 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ९ सिम्लीमा रहेको राप्ती ज्ञानोदय मावि सम्मानित भएको छ । ललितपुरमा आयोजित एक्सिलेन्सी अवार्ड २०८३ अन्तर्गत उत्कृष्ट विद्यालयका रूपमा सम्मानित भएको हो । केन्द्र विन्दु अनलाइन मिडिया प्रालिद्धारा आयोजित उक्त कार्यक्रम मार्फत राप्ती ज्ञानोदय मावि सिम्ली कर्णाली प्रदेशकै उत्कृष्ट विद्यालयको रूपमा सम्मानित भएको प्रधानाध्यापक चन्द्रबहादुर परियारले जानकारी दिनुभयो ।

उहाँले उक्त सम्मान ग्रहण गर्नुभएको छ । विद्यालयलाई मूल्याङ्कन गरी सम्मानित गरिनुले विद्यालयलाई थप हौसला मिलेको उहाँले बताउनुभयो । उहाँले आयोजकलाई धन्यवाद दिँदै यो सम्मान विद्यालयको निरन्तर शैक्षिक सुधार, गुणस्तरीय शिक्षा प्रतिको प्रतिबद्धता, शिक्षक–कर्मचारीको अथक मेहनत, विद्यार्थीहरूको लगनशीलता, अभिभावकहरूको विश्वास तथा सम्पूर्ण समुदायको अमूल्य सहयोगको प्रतिफल रहेको बताउनुभयो ।

यो उपलब्धिले अझ जिम्मेवार, प्रेरित र उत्कृष्टताको यात्रामा दृढतापूर्वक अगाडि बढ्न ऊर्जा प्रदान गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update