रुकुम पश्चिममा पछिल्ला चार आर्थिक वर्षको स्वास्थ्य तथ्याङ्कले संस्थागत सुत्केरी सेवा लिने महिलाको संख्या घट्दै गएको देखाएको छ । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले सार्वजनिक गरेको तथ्याङ्क अनुसार संस्थागत सुत्केरी सेवा लिने महिलाको संख्या घट्दै गएको पाइएको हो । बितेको आर्थिक वर्ष २०७९/८० मा ३ हजार २ सय ९५ संस्थागत सुत्केरी भएकोमा चालु आर्थिक वर्ष २०८२/८३ मा घटेर २ हजार ५ सय ८ मा झरेको छ ।
स्वास्थ्य सेवा कार्यालयका जन स्वास्थ्य अधिकृत हरिबहादुर पुनले प्रस्तुत गरेको तथ्याङ्क अनुसार २०७९/८० मा ३ हजार २९५, २०८०/८१ मा २ हजार ८६३, २०८१/८२ मा २ हजार ९४५ र चालु आर्थिक वर्षमा २०८२/८३ मा २ हजार ५०८ महिला स्वास्थ्य संस्था पुगेर सुत्केरी भएका छन् । यसले पछिल्लो चार वर्षमा संस्थागत सुत्केरी सेवाको उपयोगमा कमी आएको सङ्केत गरेको छ । त्यस्तै २० वर्षभन्दा कम उमेरका किशोरी आमाबाट हुने संस्थागत सुत्केरीको संख्या पनि बितेको आर्थिक वर्ष २०७९/८० मा ८५४ रहेकोमा चालु आर्थिक वर्ष ०८२/८३ मा ६९८ रहेको छ ।
बिचका वर्षहरूमा क्रमशः ७५२ र ७९५ सुत्केरी भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । संस्थागत सुत्केरीमध्ये २० वर्षभन्दा कम उमेरका आमाको प्रतिशत भने बढ्दो देखिएको छ । २०७९/८० मा करिब २६ प्रतिशत रहेको यो अनुपात २०८०/८१ मा २६ प्रतिशत, २०८१/८२ मा २७ प्रतिशत र २०८२/८३ मा २८ प्रतिशत पुगेको छ । कुल संस्थागत सुत्केरीको संख्या घट्दै गए पनि किशोरी आमाको अनुपात बढ्नु चिन्ताका विषय रहेको जनस्वास्थ्य अधिकृत पुनले बताउनुभयो । यसले किशोरावस्थामै विवाह तथा गर्भधारण हुने प्रवृत्ति अझै चुनौतीका रूपमा रहेको उहाँको भनाई थियो ।




1686475760.jpg)


-1759842583.jpg)