Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला स्तरीय मातृ तथा बाल स्वास्थ्य कार्यक्रम सम्पन्न 

रुकुम पश्चिममा मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय परिचयात्मक तथा समीक्षा बैठक सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको आयोजनामा तथा अमेरिकी सरकारको सहयोगबाट सञ्चालित एपिक नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपाल जनजागरण मञ्च रुकुमको सहकार्यमा मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य कार्यक्रम अन्तर्गत इपिक नेपालले रुकुम पश्चिममा काम गर्दै छ । मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सम्बन्धी जिल्लामा करिब ४ महिनासम्म काम गर्ने संस्थाले जनाएको छ ।

उक्त अवधिमा स्वास्थ्य संस्थाहरूको अवलोकन,निरीक्षण लगाएका काम गरी आवश्यक उपकरण तथा प्राविधिक सहयोग गर्ने इपिक नेपाले जनाएको छ । जिल्ला स्तरीय समीक्षा तथा परिचयात्मक कार्यक्रममा जिल्लाभर सञ्चालन भएका मातृ स्वास्थ्य, नवजात शिशु स्वास्थ्य तथा बाल स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूको वार्षिक प्रगति, उपलब्धि, चुनौती र आगामी कार्य योजना बारे छलफल गरिएको थियो । बैठकमा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, गैरसरकारी संस्थाका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ । कार्यक्रममा सुरक्षित मातृत्व, संस्थागत सुत्केरी, नवजात शिशु मृत्यु न्यूनीकरण, खोप तथा पोषणसम्बन्धी सूचकहरूको समीक्षा गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो । 

स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत हरिबहादुर पुनको अध्यक्षयतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिकी प्रमुख लुम्बिनी  गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै समन्वय उपप्रमुख देवबहादुर विक, मुसिकोट नगर प्रमुख महेन्द्र केसी, जनजागरण मञ्चका अध्यक्ष टेक कुसारी, स्वास्थ्य सेवा कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी, स्थानीय तह स्वास्थ्य शाखाका प्रमुख, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कालीबहादुर ओलीले गर्नुभएको थियो । 

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update