Kakhara सबैको खबर सम्पूर्ण खबर
बाल विवाह न्यूनीकरणमा सरकारी निकायकाे उदासीनता
कार्यक्रमका सहभागि ।

रुकुम पश्चिममा बाल विवाह सम्बन्धी कानूनी व्यवस्था र नीतिगत प्रावधानबारे अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । मुसिकोट नगरपालिका १ खलंगामा बाल विवाह विरुद्ध साझा अभियान नेपाल रुकुम पश्चिमको आयोजनामा विहीबार बाल विवाह सम्बन्धी कानूनी व्यवस्था र नीतिगत प्रावधानका विषययमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बाल विवाह विरुद्ध साझा अभियान कर्णाली प्रदेशका महासचिव वसन्त श्रेष्ठले नेपालमा बाल विवाह सम्बन्धी विद्यमान कानुनी व्यवस्था, यसको कार्यान्वयनको अवस्था तथा बाल विवाह अन्त्यका लागि भइरहेको वकालत र साझा प्रयासबारे प्रस्तुती राख्नुभएको थियो । त्यस्तै बाल विवाह बालअधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै कानुन कार्यान्वयनसँगै समुदायस्तरमा चेतना अभिवृद्धि आवश्यक रहेको  उहाँले बताउनुभयो । श्रेष्ठले विभिन्न देशहरूमा बाल विवाह न्यूनीकरणका लागि अपनाइएका अन्तर्राष्ट्रिय अभ्यास, नीति तथा कानुनी व्यवस्थाका विषयमा जानकारी बनाउनुभएको थियो । सबै पक्षको समन्वय र प्रतिबद्धताबाट मात्र बाल विवाह अन्त्य गर्न सकिने उहाँको भनाई थियो । 

कार्यक्रमका सहभागिहरुले बाल विवाह न्यूनीकरणका लागि पर्याप्त कानुनी व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् । उनीहरूले सरकारी निकायको लापरबाही, कमजोर अनुगमन तथा सरोकारवालाको पर्याप्त चासो नपुग्दा बाल विवाह अझै चुनौतीका रूपमा कायम रहेको बताएका छन् । त्यस्तै सहभागिहरुले बाल विवाह नियन्त्रणका लागि स्थानीय तह, विद्यालय, अभिभावक, नागरिक समाज र सुरक्षा निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका थिए । बाल विवाह रोकथामका लागि कानुनको कडाइका साथ कार्यान्वयन गर्न तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सहभागिहरुको जोड थियो । 

कार्यक्रममा विभिन्न संघसंस्थामा आवद्ध प्रमुख तथा प्रतिनिधी, युवा तथा स्थानीय लगायत पत्रकारको सहभागिता रहेको थियो । सहभागीहरूले बाल विवाहविरुद्धको अभियानलाई समुदायस्तरसम्म विस्तार गर्दै व्यवहारिक परिवर्तन ल्याउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने निष्कर्ष निकालेका छन् । 

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update