Kakhara सबैको खबर सम्पूर्ण खबर
छेडागाडमा बाल केन्द्रित बजेट तथा योजना तर्जुमा सम्बन्धी नगर स्तरीय अन्तर संवाद सम्पन्न

जाजरकोटको छेडागाड नगरपालिकामा विशेष नगर स्तरीय अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ । सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटको प्राविधिक सहयोग तथा छेडागाड नगरपालिकाको आयोजनामा बुधवार उक्त कार्यक्रम सम्पन्न भएको हो । 

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट वक्तव्यको पूर्व सन्ध्यामा “बालबालिकामा लगानी अभिवृद्धिका लागि बाल केन्द्रित बजेट तथा कार्यक्रम निर्माण तथा प्रभावकारी कार्यान्वयन” भन्ने मूल नाराका साथ छेडागाड नगरपालिका–१२ मा उक्त कार्यक्रम भएको हो । 

कार्यक्रममा नगरपालिका भित्रका बालबालिका तथा युवाहरूका प्रमुख सवालहरूमाथि सरोकारवालाहरूबिच साझा बुझाइ कायम गरिएको थियो । साथै, समुदायमा विद्यमान बालबालिकाका समस्याहरू उजागर गर्दै समाधानका लागि स्थानीय सरकार र सम्बद्ध निकायहरूको ध्यानाकर्षण गराइएको छ । 

कार्यक्रममा बाल–केन्द्रित योजना र उत्तरदायित्व अन्तर्गत बाल केन्द्रित योजना तथा बजेट निर्माण गरी नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमलाई बालमैत्री बनाउन जनप्रतिनिधि एवं स्थानीय सरकारलाई जबाफदेही र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । 

सामाजिक कुप्रथा विरुद्ध साझा ऐक्यबद्धता अन्तर्गत बालबालिकाका लागि चलिआएका हानिकारक परम्परागत अभ्यासहरू (जस्तै बालविवाह, छाउपडी) तथा नवीनतम रूपमा बढ्दै गएका दुर्व्यवहार र दुर्व्यसन विरुद्ध साझा आवाज बुलन्द गर्दै सामूहिक उत्तरदायित्वको बोध गराउने समेत प्रतिबद्धता व्यक्त गरिएको छ । 

त्यस्तै बहु–सरोकारवाला साझेदारी अन्तर्गत स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा नागरिक समाज, गैरसरकारी संस्था र स्थानीय सरकारबिचको समन्वय र सहकार्यलाई थप कसिलो, प्रभावकारी र पारदर्शी बनाउने प्रतिबद्धता समेत व्यक्त भएको 

कार्यक्रम छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काका अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नगर उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका अध्यक्षहरू, विषयगत कार्यालयका प्रमुखहरू, सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाजका संयोजक तथा पदाधिकारीहरू, विभिन्न सङ्घसंस्थाका प्रमुख एवं नगर बाल सञ्जालका प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको थियो । 

कार्यक्रमको प्राविधिक सत्रमा सहयात्रा तेस्रो परियोजनाका संयोजक कुबेर के.सी.ले कार्यक्रमको उद्देश्य, आवश्यकता र अन्तर संवादको रूपरेखामाथि विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो । त्यस्तै, पूर्व बाल तथा युवा अभियन्ता एवं पत्रकार जयराम केसीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । 

खुला छलफल सत्रमा सहभागीहरूका तर्फबाट नागरिक समाज, बालबालिका तथा युवा समूहका प्रतिनिधिहरूले आफ्ना जिज्ञासा, समस्या र रचनात्मक सुझावहरू प्रस्तुत गरेका थिए । उठाइएका सवालहरूमाथि समीक्षा गर्दै नगर प्रमुख, उप–प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहितका वक्ताहरूले आगामी बजेट, नीति तथा कार्यक्रममा बाल अधिकार, संरक्षण र बालमैत्री स्थानीय शासनका सूचकहरूलाई रणनीतिक प्राथमिकताका साथ समेट्ने र आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

आगामी बजेटले यहाँका बालबालिका, किशोर–किशोरी र सीमान्तकृत समुदायको सवाललाई पूर्ण रूपमा न्याय गर्नेमा सहयात्रा तेस्रो परियोजना र सम्बद्ध सरोकारवालाहरूले विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update