रुकुम पश्चिमको चौरजहारी अस्पतालले स्वास्थ्य बिमा अन्तर्गतका सेवा बन्द गरेको छ । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्य बिमा सेवा रोकेको जानकारी गराएको छ । सरकारले यसअघिको व्यवस्थामा परिवर्तन गरेको भन्दै अस्पतालले अब स्वास्थ्य बिमाको सेवा दिन नसकिने जनाएको हो ।
मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एच.डी.सी.एस)द्वारा सञ्चालित अस्पतालले आपत्कालीन अवस्थामा भने स्वास्थ्य बिमा सेवा प्रदान गर्ने अस्पताल प्रशासक डिलबहादुर गिरीले जानकारी गराउनुभएको छ ।
स्वास्थ्य बिमा बोर्डद्वारा पुनः जारी गरिएको परिमार्जित सुविधा थैली अस्पतालको प्रणालीमा अद्यावधिक गर्ने, आवश्यक आन्तरिक प्राविधिक तयारी सम्पन्न गर्ने तथा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका लागि आवश्यक औषधि एवं औषधिजन्य सामग्रीहरूको खरिद प्रक्रिया सञ्चालन भइरहेको उहाँले बताउनुभएको छ ।
हाललाई औषधी तथा उपकरणहरूको अभाव रहेको उहाँले स्पष्ट पार्नुभएको छ । उक्त कार्यहरू सम्पन्न नभएसम्म तथा अस्पतालबाट अर्को सूचना प्रकाशित नभएसम्मका लागि आपत्कालीन सेवाबाहेक स्वास्थ्य बिमा मार्फत प्रदान गरिने सेवाहरू सुविधा थैली अनुसार अस्पतालमा औषधि एवं औषधिजन्य सामग्रीहरूको अभाव भएको हुनाले उपलब्ध गराउन नसकिने जानकारी गराइन्छ, सूचनामा भनिएको छ ।
यस अवधिमा स्वास्थ्य बिमा सेवाबाट लाभान्वित हुन नसक्दा सेवाग्राहीहरूमा पर्न जाने असुविधाप्रति अस्पतालले क्षमा याचना समेत व्यक्त गरेको छ । साथै, स्वास्थ्य बिमा बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवाहरू भने नियमित रूपमा सञ्चालन भइरहेको अस्पतालले जानकारी गराएको छ ।
यो अस्पताल रुकुम पश्चिम, सल्यान, जाजरकोट, रुकुम पूर्व र जाजरकोट लगायतका ठाउँका नागरिकहरूका लागि मुख्य अस्पताल हो । अस्पतालले विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको छ ।




1686475760.jpg)


-1759842583.jpg)