रुकुम पश्चिमको मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसको अधुरो भवन निर्माण सम्पन्न गर्न कर्णाली प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विश्वविद्यालयको आन्तरिक कोषबाट करिब पाँच वर्षअघि निर्माण सुरु गरिएको उक्त भवन बजेट अभावका कारण अधुरो अवस्थामा रहेको छ ।
भवनमा झ्याल ढोका जडान, छाना निर्माण, रङ रोगन तथा विद्युत् वायरिङलगायतका काम सम्पन्न हुन नसक्दा भवन जीर्ण बन्दै गएको छ । भवनमा प्रयोग गरिएका फलाममा समेत खिया लाग्न थालेको अवस्थामा भवन लामो समयदेखि अलपत्र छ । क्याम्पस प्रमुख डम्बर खड्काका अनुसार भवन निर्माण सम्पन्न गर्न विभिन्न जनप्रतिनिधिसँग पटक पटक पहल गरिएको थियो ।
यस क्रममा पूर्व शान्ति तथा अर्थमन्त्री एवं तत्कालीन प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, कर्णाली प्रदेशसभा सदस्य महेन्द्र केसी, राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय, कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्मा, मिलन खड्कालगायत जनप्रतिनिधिलाई भवनको स्थलगत अवलोकन गराइएको उहाँले बताउनुभयो ।
शनिवार बिहान मात्र भवनको पूर्णताका लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी प्राप्त भएको क्याम्पस प्रमुख खड्काले जानकारी गराउनुभयो ।
उक्त भवन कृषि विषयको पढाइका लागि आवश्यक प्रशासनिक भवनका रूपमा निर्माण गर्न थालिएको थियो । तर बजेट अभावका कारण भवन निर्माण कार्य रोकिएको थियो । अब प्राप्त हुने बजेट सामाजिक विकास मन्त्रालयमार्फत कार्यान्वयन हुने छ ।
बजेटका लागि क्याम्पसले प्रदेश कार्यालयहरूमा कार्यरत विभिन्न विज्ञ कर्मचारीहरूबाट समेत सरसल्लाह र परामर्श प्राप्त गरेको थियो । तयार पारिएको प्रस्ताव स्वीकृत भएपछि कर्णाली प्रदेश सरकारले भवन निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराएको क्याम्पस प्रशासनले जनाएको छ ।
क्याम्पसको विकासका लागि बजेट व्यवस्था गर्न पहल गरिदिने जनप्रतिनिधिहरू, राजनीतिक दल, सामाजिक संस्था लगायतलाई क्याम्पसले धन्यवाद दिएको छ । क्याम्पसले हालसम्म स्थानीय तह तथा अन्य शैक्षिक संस्थाहरूबाट सहयोग प्राप्त भइरहेको जनाएको छ । क्याम्पस प्रशासनले यस्ता सहयोगले शैक्षिक पूर्वाधार विकास तथा गुणस्तरीय उच्च शिक्षाको विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।




1686475760.jpg)


-1759842583.jpg)