रुकुम पश्चिममा १२ औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । “स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने मूल नाराका साथ मुसिकोट नगरपालिका १ बाल मन्दिर प्राङ्गणमा योग गरेर १२ औँ अन्तर्राष्ट्रिय योग दिवस मनाएको हो । आयुर्वेद स्वास्थ्य केन्द्र, रुकुम पश्चिमको आयोजनामा तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा दिवस मनाइएको हो ।
कार्यक्रममा योग अभ्यास, योगको महत्वबारे जानकारी तथा स्वस्थ जीवनशैली प्रवर्द्धनसम्बन्धी विभिन्न गतिविधि गरिएको आयोजक आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमले जनाएको छ । योगले शारीरिक तथा मानसिक स्वास्थ्य सुधार गर्न, तनाव व्यवस्थापन गर्न तथा स्वस्थ वृद्धावस्थामा सहयोग पुर्याउने भएकाले योगको अभ्यासलाई दैनिक जीवनमा आवश्यक हुने आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख महेन्द्र खड्काले बताउनुभयो ।
आयुर्वेद स्वास्थ्य केन्द्रले बेला बेला जिल्लाको विभिन्न ठाउँमा योग शिविर सञ्चालन गर्ने गर्ने गरेको उहाँको भनाई छ । प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले दिवसमा मात्र नभएर अन्य समयमा पनि लामो समयको लागि योग शिविर सञ्चालन गर्न अनुरोध गर्नुभएको थियो । यसले गर्दा योग गर्ने व्यक्तिलाई सिकाइमा सहज हुने उहाँको भनाई थियो ।
योग दिवसमा प्रमुख जिल्ला अधिकारी निशानराज गौतम, जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेल, सशस्त्र प्रहरी बलका प्रमुख जगदिशचन्द्र हमाल , उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्का लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको उपस्थिति रहेको थियो । विश्वभर जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ ।






-1759842583.jpg)