रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्ले विमानस्थल नजिकैको गोरेटो बाटोमा एक वृद्ध महिला मृत अवस्थामा फेला परेकी छन् । आइतबार बिहान स्थानीयवासीले अचेत अवस्थामा एक महिला बाटोमा पल्टिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ विमानस्थल सुरक्षा गार्ड सल्लेबाट प्रहरी सहायक निरीक्षक पदमकुमार थापाको नेतृत्वमा चार जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
त्यस्तै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी निरीक्षक झबिन्द्र परियारको नेतृत्वमा सात जनाको प्रहरी टोली पनि घटनास्थल पुगेको थियो । मृत अवस्था फेला परेकी महिला बाँफिकोट गाउँपालिका–१० झुलाकी ६२ बर्सिया कमला खत्री रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक परियारले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे आफन्तलाई जानकारी गराइसकिएको छ । घटनास्थलमै आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेको शव गृहमा राखिएको छ ।
महिलाको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । खत्री मुसिकोट नगरपालिका वडा नम्बर ५ थर्पुस्थित माइती घरमा बस्दै आउनुभएको थियो ।




1686475760.jpg)


-1759842583.jpg)