Kakhara सबैको खबर सम्पूर्ण खबर
राज्यबाट प्राप्त गर्नुपर्ने सेवा–सुविधा प्रभावकारी रूपमा नपाएको अपाङ्गता भएका व्यक्तिहरुको गुनासो 

रुकुम पश्चिममा अपाङगता रोकथाम तथा पुनः स्थापना सम्बन्धी  एक दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय रुकुम पश्चिमको आयोजनामा मुसिकोट खलंगामा एक दिने क्षमता विकास कार्यक्रम सम्पन्न भएको हो ।  तालिममा छ वटै स्थानीय तहहरुबाट अपाङ्गता भएका व्यक्तिहरु तथा अपाङ्ग सम्बन्धी काम गर्ने व्यक्तिहरुको सहभागिता रहेको थियो । 

तालिममा सहभागि अपाङ्गता भएका व्यक्तिहरूले राज्यबाट प्राप्त गर्नुपर्ने सेवा–सुविधा प्रभावकारी रूपमा नपाएको गुनासो गरेका छन् । त्यस्तै यात्रा गर्दा सार्वजनिक यातायातबाट कानुनअनुसार पाउनुपर्ने छुट तथा सुविधा नपाएको, स्थानीय तहहरूले क्षमता विकास, सीपमूलक तालिम तथा विभिन्न कार्यक्रमहरूमा पर्याप्त रूपमा समेट्न नसकेको उनिहरुको गुनासो थियो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिकी प्रमुख लुम्बिनी गौतमले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न आफूले आफ्नो ठाउँबाट आवश्यक सहयोग र समन्वय गरिरहेको बताउनुभयो ।

6574d9f9-dae4-4282-afe6-847e2c3d8737-1782127165.jpeg

सरोकारवाला निकायबीच सहकार्य गर्दै देखिएका समस्या समाधान गर्नका लागि समन्वयको तर्फबाट आफु तयार रहेको उहाँको भनाई थियो । त्यस्तै प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले अपाङ्गता भएका व्यक्तिहरूका समस्या आफूले नजिकबाट बुझेको बताउँदै सेवा प्रवाहमा कुनै किसिमको विभेद, अपहेलना वा अधिकारबाट वञ्चित गरिने कार्य भए तत्काल जानकारी गराउन आग्रह गर्नुभयो । त्यस्ता घटनामा कानुनबमोजिम आवश्यक कारबाही तथा समाधानका लागि प्रशासन गम्भीरतापूर्वक लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

अपाङ्गता क्षेत्रसँग सम्बन्धित विभिन्न चुनौती, उपलब्धि र आगामी कार्ययोजना बनाएर लाग्न समेत प्रजिअ गौतमले अपाङ्गता भएका व्यक्तिहरुलाई सुझाव दिनुभएको थियो । कार्यक्रममा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सहभागितालाई थप प्रभावकारी बनाउन स्थानीय तह र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । 

faf5106e-1341-4df5-9e6d-fee2a5091c72-1782127170.jpeg

सामाजिक विकास कार्यालका प्रमुख मितलेशकमार यादवको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै विशेष अतिथिमा समन्वय उपप्रमुख देवबहादुर विक, अन्य अतिथिहरुमा प्रमुख जिल्ला अधिकारी गौतम, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेल, शसस्त्र प्रहरी प्रमुख डिएपी जगदिसचन्द हमाल,  जिल्ला समन्वय अधिकारी मेगराज सोनी लगायत अन्य सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, अपाङ्गताको  क्षेत्रमा काम गर्ने व्यक्ती लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो । सामाजिक विकास कार्यालयकी महिला विकास निरीक्षक डिल्लाकुमारी न्यौपानेले स्वागत मन्तव्य राखको कार्यक्रमको संचालन सामाजिक विकास कार्यालयका शाखा अधिकृत ध्रुवबहादुर बाँठाले  गर्नुभएको थियो । 

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update