Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा भएको छ । आज भएको एक कार्यक्रमका बिच गाउँपालिकालाई यो वर्षको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । 

गाउँपालिकामा रहेका १६ महिना देखि ५९ महिना उमेरका सबै बालबालिकाले खोपको सबै मात्रा पाएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अहेव सुनिल केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो वर्ष गाउँपालिकामा रहेका तोकिएको उमेरका सबै १४ सय ५ जना बालबालिकाले सबै खोपको मात्रा पाएका छन् । खोपको अवस्थाका बारेमा स्वास्थ्यकर्मी सहितको टोलीले गाउँपालिकामा रहेका सबै वडामा घरधुरी सर्वेक्षण गरेको थियो । 

जस क्रममा कोही पनि बालबालिका सरकारले तोकेका कुनै पनि खोपबाट वञ्चित नरहेको पाइएको सिनियर अहेव केसीले जानकारी गराउनुभयो । १६ देखि ५९ महिना उमेर समूहका सबै बालबालिकाले तोकिएका सबै खोप पाएमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने प्रावधान छ । 

गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकको प्रमुख आतिथ्यता रहेको थियो । घोषणा कार्यक्रममा बोल्दै उहाँले राज्यले बालबालिकालाई विभिन्न रोगबाट बचाउन ठुलो लगानी गरेर खोपको व्यवस्था गरेको भन्दै यसको सदुपयोग हुनुपर्ने बताउनुभयो । 

बाँफिकोटका कुनै पनि बालबालिका खोपबाट नछुट्नु राम्रो रहेको भन्दै उहाँले आगामी दिनमा समेत खोपको सुनिश्चिततामा ध्यान दिनुपर्ने बताउनुभयो । साथै उहाँले खोपले ज्यान जोगाउने भएकोले आफ्ना बालबालिकालाई कुनै पनि खोप नछुटाएर लगाउन सम्पूर्ण आमा बुवालाई अनुरोध गर्नुका साथै यस कार्यमा खटिएका स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूलाई धन्यवाद समेत दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका जनस्वास्थ्य अधिकृत द्वय कामना ओली र शुष्मा थापा, गाउँपालिकाका १० वटै वडाका अध्यक्षहरू, स्वास्थ्य शाखा सहित विषयगत शाखा, सुरक्षा निकाय लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । 

गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अहेव सुनिल केसीले सञ्चालन गरेको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख लालबहादुर केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update