रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा कार्यरत ३६ जना स्वास्थ्यकर्मीहरूले सामूहिक राजीनामा दिएका छन् । आफूहरूका माग पूरा नभएको भन्दै नगरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत करारका स्वास्थ्यकर्मीहरूले सामूहिक राजीनामा दिएका हुन् ।
सेवा–सुविधा वृद्धि तथा विभेद अन्त्यको माग गर्दै नगरपालिकामा पटक पटक ज्ञापन पत्र बुझाए पनि सुनुवाइ नभएपछि आज सामूहिक राजीनामा दिएका छन् । माग पूरा गर्नुको साटो सम्बन्धित निकायबाट करार स्वास्थ्यकर्मीहरूलाई अपमानजनक अभिव्यक्ति प्रकट भएपछि सामूहिक राजीनामा दिन बाध्य भएको सामूहिक राजीनामा उल्लेख छ ।
नगरपालिकाले आफूहरूका माग पूरा नगरेको र जिम्मेवार व्यक्तिहरूबाट तपाईँहरूका माग पूरा गर्न सक्दैनौ, मन लागे काम गर्नुहोस्, नलागे छाड्नुहोस्, करार सम्झौता रद्द गर्छौँ भन्ने जस्ता गैर जिम्मेवार अभिव्यक्ति आएकोले अपमानजनक रूपमा काम गर्न नसकिने भन्दै उनीहरूले राजीनामा दिएका हुन् ।
सेवा सुविधाको माग गर्दा आफूहरूमाथि प्रहार भएको र आफूहरूको श्रमको कुनै मूल्याङ्कन नभएकोले आज प्रमुख प्रशासकीय अधिकृतलाई सामूहिक राजीनामा बुझाइएको बताइएको छ । सेवा सुविधा र विभेद अन्त्यको माग गर्दै नगरका करारका स्वास्थ्यकर्मीहरूले पटक पटक नगरपालिकालाई ज्ञापन पत्र बुझाएका थिए ।










-1759842583.jpg)