Kakhara सबैको खबर सम्पूर्ण खबर
मजाक (प्रयांक)का नाममा दुर्व्यवहार गर्ने ३ जना प्रहरी नियन्त्रणमा

मजाक (प्रयांक) का नाममा दुर्व्यवहार गरेको र हैरानी दिएको भन्दै रुकुम पश्चिम प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा डेलिभरी एक ब्वायलाई गालीगलौज, धम्की तथा अपमानजनक व्यवहार गरिएको देखिएपछि घटनाको चौतर्फी आलोचना भएको थियो ।

त्यस लगत्तै प्रहरीले घटनाको अनुसन्धान सुरु गर्दै त्यसमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बाँफिकाेट गाउँपालिका ३ का २८ वर्षीय डिल्लीबहादुर ओली, सोही ठाउँका ३१ वर्षीय राजन केसी र कपिलवस्तु कृष्ण नगर घर भई हाल मुसिकोट १ सल्लेमा पाउरोटी उद्योग सञ्चालन गर्दै आएका ३१ वर्षीय रघुवीर कोरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीका अनुसार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । 

जीवन ओली नामक आइडीबाट उक्त भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा श्रमिकमाथि गरिएको दुर्व्यवहारको व्यापक विरोध भएको थियो । धेरैले दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने माग गरेका थिए ।

प्रहरीले सामाजिक सञ्जालमा लोकप्रियता वा मनोरञ्जनका नाममा कसैको मानमर्दन गर्ने, धम्की दिने वा मानसिक पीडा पुग्ने गतिविधि नगर्न सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update