Kakhara सबैको खबर सम्पूर्ण खबर
यमुना नन्द नमुना माविको विव्यस सर्वसम्मत गठन 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ मा रहेको यमुना नन्द नमुना मावि शेरिगाउँको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । आज भएको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिका ४ सदस्य सर्वसम्मत चयन भएका छन् । जसमा यामकुमारी नेपाली, दीपशिखा केसी, पवित्रा ओली र केशव केसी रहनुभएको छ । 

शिक्षा ऐन २०२८ को संशोधन सहितको दफा दफा १२ को उपदफा १ मा व्यवस्था भए अनुसार विद्यालय व्यवस्थापन समिति चयन गरिएको र अब अर्को बैठकले यिनै सदस्यबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चयन गर्ने छ भने व्यवस्था भए अनुसार अन्य सदस्यहरू रहने छन् । 

विव्यस गठनका विषयमा शुक्रवार सर्वपक्षीय छलफल गरिएको थियो । जसका कारण आज सौहार्दपूर्ण वातावरणमा सर्वसम्मत विव्यस गठन भएको विद्यालय प्रशासनले जनाएको छ । 

त्यस्तै शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ । नरेन्द्र अधिकारीको अध्यक्षतामा ८ सदस्यीय शिक्षक अभिभावक संघ गठन भएको विद्यालयका सहायक प्रधानाध्यापक गणेश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सदस्यहरूमा पूर्णेश्वरी गौतम, सपना पाण्डे, मिना रावल, तुलशा पौडेल, तोकबहादुर खत्री, नरेन्द्र राना र दिलकुमार परियार रहनुभएको छ । 

त्यस्तै विद्यालयको आर्थिक वर्ष २०८१–०८२ को सामाजिक परीक्षण समेत सम्पन्न भएको छ । शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष भिमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशका पूर्व सचिव भरतकुमार शर्मा, मुसिकोट नगरपालिका ५ का वडाध्यक्ष समिरजंग मल्ल, पूर्व वडाध्यक्ष सुशील गौतमको विशेष उपस्थिति तथा विव्यस तथा शिक्षक अभिभावक संघका पूर्व पदाधिकारीहरू, अभिभावक लगायतको उपस्थिति रहेको थियो । 

भेलामा स्वागत मन्तव्य तथा विद्यालयको प्रतिवेदन प्रधानाध्यापक कमप्रसाद देवकोटाले राख्नुभएको थियो । भेलाको सञ्चालन सहायक प्रधानाध्यापक गणेश केसीले गर्नुभएको थियो । 

प्रकाशित मिति: शनिबार, असार १३, २०८३  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update