Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ९ सिम्लीमा रोजगार मेला सम्पन्न भएको छ । सीप विकास, रोजगार प्रवद्र्धन, समृद्ध समाज निर्माणको धेय सहित राप्ती ज्ञानोदय माविमा मेला सम्पन्न भएको हो ।

कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, क्वालिटी परियोजनाको संयुक्त आयोजनामा मेला भएको हो । यसमा रुकुम उद्योग वाणिज्य संघ र राप्ती ज्ञानोदय माविसंग समन्वय गरिएको थियो भने प्राविधिक सहयोग स्वीस कन्ट्याक्ट रहेको छ ।

मेलामा जिल्लामा रहेका विभिन्न उद्योगहरूले सहभागिता जनाएका थिए । उनीहरूले उत्पादन गरेका सामग्रीहरू मेलामा प्रदर्शनीमा राखिएको थियो । मेलामा सहभागी उद्योगीहरूसँग व्यवसाय प्रवद्र्धनका विषयमा अन्तरक्रिया समेत गरिएको थियो । व्यवसायलाई दिगो र राम्रो बनाउनका लागि भइरहेका प्रयास र गर्नुपर्ने विषयमा अन्तरक्रिया गरिएको क्वालिटी परियोजनाका हरि शर्माले बताउनुभयो ।

साथै राप्ती ज्ञानोदय माविमा पशु विज्ञान पढिरहेका विद्यार्थीहरुसंग अन्तरक्रिया र उनीहरूका लागि रोजगारी सिर्जना गर्न सहयोग गर्ने समेत यस कार्यक्रमको उद्देश्य रहेको उहाँले बताउनभयो । प्राविधिक विद्यार्थीहरूलाई कसरी रोजगारी दिने, श्रम बजारमा कसरी जोड्ने भन्ने मुख्य उद्देश्य रहेको बताइएको छ ।

सोही अनुसार अध्ययनरत तथा अध्ययन पुरा गरिसकेका प्राविधिक विद्यार्थी र जिल्लाका उद्योगी व्यवसायीहरूका बिचमा सम्बन्ध विस्तार गरिएको राप्ती ज्ञानोदय मावि सिम्लीका प्रधानाध्यापक चन्द्रबहादुर परियारले बताउनुभयो । यो कार्यक्रमबाट ५०, ६० जना विद्यार्थीहरु रोजगारीमा जोडिन सहज हुने सम्भावना देखेको उहाँले बताउनुभयो । उनीहरूको क्षमता अनुसार उनीहरूलाई जिल्लास्थित व्यवसायी र उद्योगीहरूसँग भेट गराइएको उहाँको भनाई छ ।

अब विद्यार्थीहरूले आफ्नो क्षमता अनुसार रोजगारी पाउन सहज हुने तथा जिल्लास्थित उद्योगी व्यापारीहरूलाई पनि जनशक्ति व्यवस्थापनमा सहजता आउने र यसले समग्रमा रोजगारी सिर्जना गर्न मद्दत पुगेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रत्येक विद्यार्थीले व्यक्तिगत बायोडेटा प्रस्तुत गरेका थिए । यसबाट उनीहरूको क्षमता प्रस्तुत भएको छ ।

प्रतिनिधि सभा सदस्य गोपाल शर्माले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रत्यक्ष रोजगारी सिर्जनाका लागि यो कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनुभयो । पढ्दै कमाउँदै कार्यक्रमका लागि यस्ता कार्यक्रमले निकै महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । विद्यार्थीहरूले अध्ययन सक्ने बित्तिकै रोजगारीमा जोडिनका लागि यो कार्यक्रमको महत्त्वपूर्ण भूमिका रहने उहाँको विश्वास छ ।

कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष धनबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य गोपाल शर्माको प्रमुख र सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला रोका, रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो ।

राप्ती ज्ञानोदय माविका प्रधानाध्यापक चन्द्रबहादुर परियारको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन रुकुम उद्योग वाणिज्य संघका सचिव रमेश खड्काले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, असार १४, २०८३  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update