रुकुम पश्चिमका पत्रकारहरूसँग स्वास्थ्य प्रवर्द्धन सम्बन्धी सञ्चार तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयको आयोजनामा मुसिकोट ५ शेरिगाउँमा उक्त कार्यक्रम भएको हो । स्वास्थ्य प्रवर्द्धनमा पत्रकारहरूको भूमिकालाई बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
पत्रकारलाई स्वास्थ्य क्षेत्रका प्राथमिकता बुझाउने, तथ्यमा आधारित स्वास्थ्य समाचार प्रवाह प्रवर्द्धन गर्ने र स्वास्थ्य कार्यक्रमप्रति जनचेतना बढाउने उद्देश्यले पत्रकारहरूसँग छलफल कार्यक्रम गरिएको स्वास्थ्य सेवा निर्देशनालयका जनस्वास्थ्य अधिकृत भुवन पुरीले जानकारी गराउनुभयो ।
कार्यक्रममा स्वास्थ्य र सञ्चारको सम्बन्ध, स्वास्थ्य समाचारको महत्त्व, सन्देश प्रवाह, स्वास्थ्य सम्बन्धी समाचार तयार पार्दा ध्यान दिनुपर्ने कुरा लगायतका विषयमा छलफल गरिएको थियो । स्वास्थ्य सम्बन्धी सचेतना प्रवाह गर्नका लागि पत्रकार र मिडियाको निकै महत्त्वपूर्ण भूमिका रहेकोले त्यसलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाई छ ।
स्वास्थ्य क्षेत्र संवेदनशील रहेको र यस अन्तर्गतका सूचनाहरू संवेदनशील रहने भएकोले सानो त्रुटिले पनि ठुलो असर गर्ने भएकोले त्यस्ता कमजोरीहरूलाई कम गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको उहाँको भनाई छ । कार्यक्रममा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सम्बन्धी कानुनी व्यवस्थाका विषयमा सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता हरिप्रसाद घिमिरेले जानकारी गराउनुभएको थियो ।
स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत हरिबहादुर पुनले मदिराजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धीका कानुनी व्यवस्थाका बारेमा जानकारी गराउनुभयो । त्यस्तै स्वास्थ्य सेवा निर्देशनालयका जनस्वास्थ्य अधिकृत प्रेम सिंहले दीर्घ तथा कडा रोगका बिरामीलाई उपचार सहायता कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।
स्वास्थ्य सेवा निर्देशनालयका शाखा अधिकृत लक्ष्मीप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे, मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य, स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर जीवन परियार, सहायक प्रमुख जिल्ला अधिकारी तोषराज केसी, जिल्ला आयुर्वेद कार्यालय प्रमुख डाक्टर महेन्द्र खड्का, डाक्टर रेखा पौडेल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गोपालप्रसाद रेग्मी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कालीबहादुर ओलीले गर्नुभएको थियो ।







-1759842583.jpg)