जाजरकोटको शिवालय गाउँपालिकाको खानेपानी योजनाको सुचारुपनाका लागि घोषणा पत्र जारी गरिएको छ । हेल्भेटास नेपाल, गाउँपालिका र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सञ्चालित एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम मार्फत आयोजित खानेपानी तथा सरसफाइ योजनाका सरोकारवालाहरूको जबाफदेहिता अभिवृद्धिका लागि सञ्चालन व्यवस्थापन कार्यशाला तथा सुचारुपना संवाद कार्यक्रमबाट ५ बुँदे घोषणा पत्र जारी गरेको हो ।
उक्त घोषणा पत्र खानेपानीको सुचारुपना तथा दिगोपना र समग्र स्वच्छता प्रवर्द्धनमा केन्द्रित रहेको एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमका कार्यक्रम संयोजक बद्री लम्सालले जानकारी दिनुभयो । गाउँपालिकामा सक्रिय खानेपानी उपभोक्ता संस्थाका प्रमुख/प्रतिनिधिहरू सहित गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
उक्त कार्यक्रम ५ बुँदै घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । घोषणा पत्रमा एन-वास एमआइएस सहित गाउँपालिकाको खानेपानी सेवा स्तर तथ्याङ्क अद्यावधिक गरी सार्वजनिक गर्ने, खानेपानी योजनाको सुचारुपनाका लागि नियमित अनुगमन तथा मर्मत सम्भार सम्बन्धी कानुन बनाई कार्यान्वयनमा ल्याउने र गाउँपालिकामा रहेका सबै सक्रिय खानेपानी योजनाहरू गाउँपालिकामा अनिवार्य दर्ता हुने गरी अभियान चलाउने भनिएको छ ।
साथै खानेपानी उपभोक्ता समितिले अनिवार्य रूपमा अर्धवार्षिक रूपमा गाउँपालिकामा प्रतिवेदन पेस गर्नु पर्ने, एक आर्थिक वर्षमा अनिवार्य वार्षिक साधारण सभा गर्नुपर्ने, उपभोक्ता समितिले दर्ता मुहानहरूको पालिकामा अनिवार्य नवीकरण गर्नुपर्ने र सेवा क्षेत्रको मुहान दर्ता गर्दा सेवा क्षेत्रमा बसोबास गर्ने कम्तीमा ७० प्रतिशत भेलाले निर्णय गरेको हुनुपर्ने भनिएको छ ।
गाउँपालिकाले आफ्ना समपूर्ण नागरिकलाई सुरक्षित व्यवस्थित खानेपानी सुविधा उपलब्ध गराउने प्रतिबद्धता अनुरूप विद्यमान खानेपानी योजना सबैलाई सुचारु अवस्थामा ल्याई, पानी शुद्धीकरण गरी, अति आवश्यक बस्ती तथा टोलहरूमा नयाँ योजना समेत निर्माण गरी गाउँपालिकालाई खानेपानी युक्त र सफा तथा स्वच्छ क्षेत्र घोषणा गर्ने, जलवायु परिवर्तन र विकास निर्माणको कार्यले पार्ने नकारात्मक असरलाई न्यूनीकरण गर्दै पानीका मुहानहरू संरक्षण गर्ने गराउने समेत घोषणा गरिएको छ ।
संवाद कार्यक्रममा गाउँपालिकाका सबै ९ वटै वडामा रहेका खानेपानी योजना, तीनको अवस्था, लाभग्राही संख्या, सुचारुपना तथा दिगोपना लगायतका विषयमा रिपोर्ट प्रस्तुत गरिएको थियो । यसैबिच संवाद कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले गाउँपालिका एक घर एक खानेपानी धाराको अभियानलाई सफल पार्ने गरी लागिपरेको बताउनुभयो ।
खानेपानी तथा स्वच्छता सम्बन्धी नीति निर्माण, मुहान संरक्षण देखि खानेपानीको सुचारुपना तथा दिगोपना सहित जलवायु परिवर्तनका कारण खानेपानीका मुहानमा पानीको मात्रा घट्दै गएपछि वैकल्पिक व्यवस्थाका बारेमा समेत गाउँपालिकाले सोचिरहेको उहाँको भनाई छ । त्यस्तै उहाँले समग्र गाउँपालिकाबासीलाई मुहान संरक्षण तथा खानेपानी योजनाको दिगोपनामा ध्यान दिन आग्रह पनि गर्नुभयो ।
हेल्भेटास नेपालका संस्थागत विकास विज्ञ अक्कल शाहले हालसम्म गाउँपालिकासँग मिलेर खानेपानीको सहज पहुँच विस्तारका लागि काम गरिरहेको र अब गाउँपालिकाले तीनको संरक्षण र दिगोपनाका लागि ध्यान दिन आवश्यक रहेको बताउनुभयो । यसका लागि अझै केही समय आफूहरूले सहयोग गर्ने र त्यसपछि भने स्थानीय सरकारले नै यसमा नेतृत्व लिनुपर्ने उहाँको भनाई छ ।
गाउँपालिकाले खानेपानी तथा स्वच्छता सम्बन्धी नीति निर्माण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । नीति निर्माणले गाउँपालिकामा सम्पन्न भएका खानेपानी योजनाको दिगोपनाका लागि महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नीति निर्माण समेत आफूहरूले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष केशनकुमार क्षेत्रियाल सहित संस्थाका कर्मचारी, वडाध्यक्षहरू, अन्य जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, खानेपानी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू लगायत गाउँपालिकावासी सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।







-1759842583.jpg)