Kakhara सबैको खबर सम्पूर्ण खबर
यमुना नमुना माविको अध्यक्षमा केशव केसी सर्वसम्मत 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ मा रहेको यमुना नन्द नमुना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा केशव केसी चयन हुनुभएको छ । आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकबाट केसीलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो । 

यसअघि असार १३ गतेको अभिभावक भेलाबाट नियमानुसार ४ जना सदस्य चयन गरिएको थियो । उक्त सदस्यहरू पनि सर्वसम्मत चयन गरिएको थियो । उक्त ४ जना सदस्य सहितको विद्यालय व्यवस्थापन समितिको आज बसेको बैठकले केसीलाई अध्यक्षमा चयन गरेको विद्यालय प्रशासनले जनाएको छ । 

यो सँगै विद्यालय व्यवस्थापन समितिले लगभग पूर्णता पाएको छ । सदस्यहरूमा यामकुमारी परियार, दीपशिखा केसी र पवित्रा ओली रहनुभएको छ । सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक कमप्रसाद देवकोटा रहनुभएको छ भने वडाध्यक्ष समीर जङ्ग मल्ल पदेन सदस्य रहनुभएको छ । 

विद्यालयका सहायक प्रधानाध्यापक गणेश केसीका अनुसार ७ सदस्यीय विद्यालय व्यवस्थापन समितिमा अब शिक्षक प्रतिनिधि मात्र छनोट गर्न बाँकी छ । जसको प्रक्रिया सुरु भइसकेको उहाँले बताउनुभयो । आजै साँझ वा भोलीसम्ममा शिक्षक प्रतिनिधि समेत चयन गरेर विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिइने बताउनुभयो । 

यसअघि विद्यालय व्यवस्थापन समिति ९ सदस्यीय रहने व्यवस्था रहेकामा हाल भने ७ सदस्यीय रहने व्यवस्था रहेको छ । विद्यालय व्यवस्थापन समिति गठन तथा पुनर्गठनमा ठुलो झमेला र चुनाव गर्ने सम्मकै अवस्था सिर्जना भइरहेकामा यमुना नन्द नमुना माविमा भने सौहार्दपूर्ण रूपमा सर्वसम्मत भएको हो ।

विव्यस अध्यक्षका लागि हानथाप भइरहेका बेला आफूहरूले भने सौहार्दपूर्ण रूपमा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन गरेर सन्देश दिन सफल भएको वडाध्यक्ष समीर जङ्ग मल्लले बताउनुभयो । 

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update