रुकुम पश्चिमको मुसिकोट ३ मा सिङ्गल क्याप पिकअप दुर्घटना भएको छ । माछिमी स्थित भित्री सडक खण्डमा चौरजहारीबाट सोलावाङ तर्फ आउँदै गरेको भे.१ च २९४८ नम्बरको किराना पसलको सामान बोकेको सिङ्गल क्याप पिकअप जिप गयराती ११:३० बजेतिर अनियन्त्रित भई सडकबाट खसेको थियो ।
सडकबाट अन्दाजी ६० मिटर तल खस्दा जिपमा सवार मुसिकोट नगरपालिका वडा नम्बर ४ का २८ वर्षीय प्रकाश खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार खड्कालाई जिल्ला अस्पताल सल्लेमा सामान्य उपचारपछि थप उपचारका लागि आज बिहान नेपालगन्ज पठाइएको छ ।
घटनापछि फरार रहेका चालक मुसिकोट नगरपालिका वडा नम्बर १२ का ३१ वर्षीय खीमबहादुर ओलीलाई प्रहरीले मुसिकाेट नगरपालिका ५ बाट नियन्त्रणमा लिएको छ । ओलीलाई सामान्य चोट लागेको बताइएको छ ।








-1759842583.jpg)