Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा 

रुकुम पश्चिम जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्लाका १६ देखि ५९ महिना उमेरका सबै बालबालिकाहरूले पाउनुपर्ने सबै खोप पाएपछि जिल्लालाई आज एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । 

स्वास्थ्य सेवा कार्यालय सल्लेमा आयोजित कार्यक्रम मार्फत जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो । त्यसअघि स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर जीवन परियारले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि प्रस्ताव पेस गर्नुभएको थियो । 

उक्त प्रस्तावलाई अनुमोदन सहित गौतमले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनालाई आगामी दिनमा पनि कायम राख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । साथै जिल्लास्थित सरोकारवालाहरूले समेत प्रतिबद्धता जनाएका छन् । 

त्यस्तै जिल्लालाई कर्णाली प्रदेश सरकारका तर्फबाट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणाको प्रमाण पत्र समेत प्रदान गरिएको छ । प्रदेश खोप समन्वय समितिका सदस्य तथा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका खोप फोकल पर्सन ओमप्रकाश पौडेलले प्रमाण पत्र प्रदान गर्नुभएको हो । 

जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा पूर्व जिल्लाका सबै पालिकामा घरधुरी सर्वेक्षण गरिएको थियो । कुल ९ हजार ६ सय ९६ जना बालबालिकामा घरधुरी सर्वेक्षण गरिएकामा ११० जना बालबालिकाहरू छुटेको पाइएको थियो । उनीहरूमध्ये १ सय ७ जनाले बिचमै खोप लगाउन छाडेका र ३ जना बालबालिका शून्य डोज अर्थात् कुनै पनि खोप नपाएका बालबालिका रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

सर्वेक्षण गरिएका बालबालिकामा ३ सय ७३ जना बालबालिकाको भने खोप कार्ड नभएको पाइएको थियो । उनीहरूलाई पनि विभिन्न माध्यमबाट भेरिफाइ गरिएको बताइएको छ । छुटेका सबै बालबालिकालाई खाेप दिइएकाे बताईएकाे छ । हरेक वर्ष जिल्लामा छुटेका बालबालिकाहरूलाई खोजेर खोप दिने गरिएको छ । गत वर्ष १०७ जना खोपबाट छुटेका बालबालिकाहरूलाई खोजेर खोप दिइएको थियो । 

khop-1783080879.jpeg
सबै बालबालिकाहरूले खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार १५ महिना उमेरका बालबालिकाले ९ प्रकारका खोप पाउनुलाई पूर्ण खोप सुनिश्चितताको अवस्था भनिन्छ ।

१५ महिनामा सबै खोपको मात्रा पाउनु पर्नेमा खाेप पाए नपाएकाे बारेमा १६ देखि ५९ महिना उमेरका बालबालिकाहरुमा सर्वेक्षण गर्ने गरिएको र छुटेका बालबालिकाहरूलाई छुटेको खोप दिने गरिएको उहाँले बताउनुभयो । 

घोषणाको मुख्य उद्देश्य सबै बालबालिकाले खोप पाएका छन् वा छैनन् भनेर थाहा पाउनु, खोपबाट बच्न सकिने रोगबाट बचाउनु, स्वस्थ नागरिक निर्माण गर्नु, बाल मृत्युदर घटाउनु जस्ता रहेको उहाँले बताउनुभयो । हरेक वर्ष वडा, पालिका हुँदै जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको उहाँको भनाई छ । 

जिल्लामा नियमित खोप कार्यक्रम सञ्चालन भइरहेको र १०९ वटा खोप केन्द्रहरू रहेको उहाँले बताउनुभयो । उक्त केन्द्रहरूबाट मासिक रूपमा नियमित खोप कार्यक्रम सञ्चालन हुने गरेको उहाँले बताउनुभयो । जिल्लामा भ्याक्सिन केन्द्र रहेको र आवश्यक भ्याक्सिन खोप केन्द्रहरूमा पठाउने गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका अध्यक्ष लुम्बिनी गौतमले जिल्लास्थित सबैको पहलमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएको भन्दै उहाँले सबैलाई धन्यवाद दिनुभयो । अझै पनि खोप सम्बन्धी भ्रमहरू रहेको भन्दै उहाँले खोप सम्बन्धी सचेतना फैलाउन आवश्यक रहेको पनि बताउनुभयो । 

कार्यक्रममा बोल्दै प्रदेश खोप समन्वय समितिका सदस्य तथा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका खोप फोकल पर्सन ओमप्रकाश पौडेलले रुकुम पश्चिम सुरुवात देखि हालसम्म कर्णाली प्रदेशमा सबै प्रक्रिया पूरा गरेर घोषणा गर्ने एक मात्र जिल्ला रहेको बताउनुभयो । यसका लागि उहाँले जिल्लालाई धन्यवाद समेत दिनुभयो । 

साथै उहाँले आगामी दिनमा समेत यसलाई निरन्तरता दिन र डकुमेन्ट्रेसनको पाटोलाई पनि निरन्तरता दिन आग्रह गर्नुभयो । 

purna-khop-1783080880.jpeg
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकले जिल्लाका सबै बालबालिकाले तोकिएका सबै खोप पाउनु खुसीको कुरा भएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन जिल्लास्थित सबै सरोकारवालाहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर जीवन परियार, जिल्ला समन्वय अधिकारी मेघराज सोनी लगायत जिल्लास्थित सरोकारवालाहरूको समेत आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत हरिबहादुर पुनले गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा जनस्वास्थ्य अधिकृत कालीबहादुर ओलीले स्वास्थ्य सेवा कार्यालयको प्रगति विवरण पेस गर्नुभएको थियो । 

त्यस्तै उत्कृष्ट कार्यसम्पादन गर्ने तीन जनालाई सम्मान गरिएको छ । जनस्वास्थ्य अधिकृत कालीबहादुर ओली, सिनियर अहेव शंकर ओली र अहेव समीक्षा खड्कालाई सम्मान गरिएको हो । ६ वटै पालिकाका स्वास्थ्य शाखालाई प्रशंसा पत्र समेत प्रदान गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update