युवा व्यवसायी, समाजसेवी तथा गत फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि रुकुम पश्चिमका उम्मेदवार राजु केसीले सानीभेरी गाउँपालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । आज एक कार्यक्रमका बिच पालिकाका २ वटा विद्यालयका ६ सय विद्यार्थीहरूलाई कापी र कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।
केसीको व्यक्तिगत लगानीमा वडा नम्बर ९ को राप्ती ज्ञानोदय मावि सिम्ली र वडा नम्बर ११ को शिव माविका विद्यार्थीहरूलाई उक्त सामग्री वितरण गरिएको हो । केसीका अनुसार राप्ती ज्ञानोदयका ३ सय ५० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । जसमा कक्षा ९ र १० का सबै तथा कक्षा ८ सम्मका गरिब तथा जेहनदार गरी प्रति कक्षा १० जनालाई कापी र कलम तथा रिफिल वितरण गरिएको हो ।
त्यस्तै शिव माविमा भने विद्यालयमा अध्ययनरत सबै २ सय ५० विद्यार्थीहरूलाई उक्त सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । २ विद्यालयमा गरी ६ सय जना विद्यार्थीहरूलाई सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । कक्षा १० का विद्यार्थीलाई ७ वटा, कक्षा ९ का विद्यार्थीहरूलाई ५ वटा र कक्षा ८ सम्मका विद्यार्थीहरूलाई ४ वटाका दरले वितरण गरिएको हो ।

२०८० साल कार्तिक १७ गतेको जाजरकोट भूकम्पबाट प्रभावित विद्यार्थीहरूका लागि व्यक्तिगत रूपमा आफूले यो कार्यक्रम बनाएको र अहिलेसम्म निरन्तर रहेको तथा अब फाउन्डेसन मार्फत व्यवस्थित गर्न लागिएको समाजसेवी केसीले बताउनुभयो । अहिले यस अघि नै छापिएका कापी बाँकी रहेकोले वितरण गरिएको र अबका दिनमा फाउन्डेसन निर्माण गरेर जिल्ला भरमै कापी वितरण गर्ने योजना रहेको उहाँको भनाई छ ।
यस पटक ठ्याक्कै कति वटा विद्यालयमा कति जना विद्यार्थीलाई कापी वितरण गर्ने भन्ने निश्चित नभए पनि आवश्यकता र मागका आधारमा वितरण सुरु गरिएको उहाँले बताउनुभयो । भूकम्प पश्चात् यो कार्यक्रम सुरुवात गरिएकामा प्रभावकारी देखिएपछि यो पटक तेस्रो वर्षमा कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी गराउनुभयो ।
अहिलेसम्म जिल्लाका करिब २० हजार बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिसकेको उहाँ बताउनुहुन्छ । जिल्लाको शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुर्याउने र कोही पनि बालबालिका शैक्षिक सामग्रीको अभावमा विद्यालय जानबाट वञ्चित नहोस् भनेर यो कार्यक्रम ल्याइएको केसीले बताउनुभयो ।

दुवै विद्यालयमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी सामग्री वितरण गरिएको हो । राप्ती ज्ञानोदय माविमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतीराम रोकाको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव परमेश्वर भण्डारी, काँग्रेस नेताहरू शिव आचार्य, गोरखप्रसाद चन्द, डिल्लीरमण महत लगायतको आतिथ्यता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर परियारको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शैक्षिक सामग्री वितरण कार्यक्रमका संयोजक दीपेन्द्रराज कुसारीले गर्नुभएको थियो । यसैविच शैक्षिक सामग्री सहयाेग गरेकाे भन्दै विद्यालयले धन्यवाद ज्ञापन गरेकाे छ । प्रअ परियारले सहयाेग गरेर बालबालिकाहरुकाे शैक्षिक वातावरणकाे ग्यारेन्टीमा टेवा पुर्याएकाे भन्दै धन्यवाद ज्ञापन गर्नुभयाे ।








-1759842583.jpg)