Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा ३२ सय सवारी साधन कारबाहीमा परे, साढे २८ लाख राजस्व सङ्कलन

रुकुम पश्चिममा चालु आर्थिक वर्षको हालसम्म सवारी कारबाहीबाट साढे २८ लाख राजस्व सङ्कलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाभरमा सवारी कारबाहीबाट साउन देखि हालसम्म २८ लाख ६७ हजार राजस्व सङ्कलन गरेको हो । 

यो अवधिमा जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २ सय ३४ सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज नवीन अधिकारीले जानकारी दिनुभयो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल रहेको उहाँले बताउनुभयो । 

जिल्लामा सबै खालका सवारी साधन ट्राफिक नियम उल्लङ्घन गरे बापत कारबाहीमा परेको उहाँको भनाई छ । क्षमता भन्दा बढी यात्रु बोक्ने, कागजात नभएका, रुट परमिट नभएका, तीव्र गति लगायतका ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधन कारबाहीमा परेको बताइएको छ । 

साथै जिल्लामा मादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम बढ्दो पाइएको छ । यो अवधिमा जिल्लामा मापसे गरी सवारी चलाउने २ सय ३५ जना चालक कारबाहीमा परेका छन् । उनीहरूबाट मात्र ट्राफिक प्रहरीले १ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । 

जिल्लामा सवारी चाप, साँघुरा सडक, ट्राफिक सचेतनामा कमी लगायतका चुनौतीहरू रहेको र यसले दुर्घटनाको जोखिम तथा सवारी अस्तव्यस्तता थपिँदै गएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज अधिकारीले जानकारी गराउनुभयो । 

उहाँका अनुसार यिनै समस्यालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सचेतनाका कार्यक्रममा समेत जोड दिएको छ । चालु आर्थिक वर्षको साउन देखि हालसम्म जिल्ला भरमा ८ सय ४१ वटा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । 

जसबाट कुल ६४ हजार ९० जना नागरिक समेटिएका छन् । यसमा महिला २० हजार ३ सय ८८, पुरुष २३ हजार ३ सय ८७, बालक १० हजार ६ सय ८० र बालिका ९ हजार ६ सय ३५ जना रहेको अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, असार २१, २०८३  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update