रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको चौरजहारी अस्पतालले स्वास्थ्य बिमा उपचार सेवा सुरु गरेको छ । अस्पतालले कहीँ समय अघि एक सूचना जारी गर्दै औषधि, उपकरण लगायतको व्यवस्थापन गर्नुपर्ने भएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरेको थियो ।
अस्पतालले आज एक सूचना जारी गर्दै सेवा पुनः सुचारु भएको जानकारी गराएको छ । तर अस्पताल प्रथम सेवा विन्दुका रूपमा भने नरहने भएको छ । अस्पतालले रेफरल केन्द्रका रूपमा सेवा प्रवाह सुचारु गरिएको जानकारी दिएको छ ।
अब बिरामीले प्रथम सेवा बिन्दुका रूपमा रहेको स्वास्थ्य संस्थाबाट रिफर भएर अस्पतालबाट सेवा लिन पाउने छन् । तर विमितहरुले सुरुमै चौरजहारी अस्पतालमा गएर भने स्वास्थ्य बिमाको सेवा नपाउने अस्पतालका व्यवस्थापक डिलबहादुर गिरीले जानकारी गराउनुभएको छ ।
उहाँका अनुसार स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सेवा लिने सेवाग्राहीहरूले अनिवार्य रूपमा प्रथम सेवा बिन्दुका रूपमा रहेको स्वास्थ्य संस्थाबाट जारी गरिएको रेफरल पत्र सहित सेवा लिन आउन सकिने छ ।
सरकारले नीति स्वास्थ्य संस्थाहरूलाई प्रथम सेवा बिन्दुबाट हटाएपछि अब चौरजहारी अस्पतालले रेफरल केन्द्रका रूपमा सेवा प्रदान गर्ने छ । प्रथम सेवा बिन्दुका रूपमा रहेका बेला यस अस्पतालले ठुलो संख्यामा बिरामीलाई सेवा दिइरहेको थियो ।
यस अस्पतालमा रुकुम पश्चिमका मात्र नभई छिमेकी जाजरकोट, सल्यान, डोल्पा र रुकुम पूर्व सम्मका सेवाग्राहीहरूले सेवा लिने गरेका छन् ।








-1759842583.jpg)