समाजका लागि गरिने असल कामले कहिलेकाहीँ आफ्नै जीवनमा पीडा थपिदिन्छ । तर त्यही त्यागलाई समाजले कहिल्यै बिर्सँदैन भन्ने उदाहरण बनेको छ रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० मा रहेको मालिका माध्यमिक विद्यालय, चुन । २०५३ सालमा विद्यालयलाई स्रोत केन्द्र स्तरको भवन निर्माण गर्ने योजना आएपछि विद्यालयको अधिकांश जग्गा भिरालो भएकाले समथर जग्गाको आवश्यकता पर्यो ।
त्यस बेला स्थानीय पञ्चराम बुढाले विद्यालयको विकासलाई आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि राख्दै घरसहितको आफ्नै समथर जग्गा विद्यालयलाई दिनुभयो । बदलामा विद्यालयको भिरालो जग्गा व्यवहारमा पाए पनि कानुनी प्रक्रिया पूरा हुन सकेन । परिणामस्वरूप उहाँ र उहाँको परिवार झन्डै ३० वर्षसम्म लालपुर्जाविहीन बन्न बाध्य भए । समय बित्दै गयो, पुस्ता फेरियो, तर समस्या जस्ताको त्यस्तै रह्यो ।
२०७९ सालको स्थानीय निर्वाचनपछि वडा जनप्रतिनिधिहरूले यसलाई वडाको सबैभन्दा ठुलो सामाजिक तथा कानुनी समस्याका रूपमा लिएको वडा अध्यक्ष धनबहादुर खड्का वसन्त बताउनु हुन्छ । समस्या हल गर्न विद्यालय व्यवस्थापन समिति, शिक्षक, राजनीतिक दल, टोल विकास संस्था, पूर्व विद्यार्थी, शिक्षा प्रेमी र स्थानीयवासी सबै एकजुट भएको उहाँको भनाइ छ । भवन निर्माणबाट बचत भएको रकम, भैलो कार्यक्रम, दाताहरूको सहयोग र सामूहिक अभियानबाट रु. २३ लाख ९६ हजार जुटाइयो । अन्ततः तीन दशकदेखिको गाँठो फुकाउन सफलता मिल्यो ।
२०८३ असार २१ गते आयोजित अभिभावक भेलामा पञ्चराम बुढालाई करिब १०.५ रोपनी जग्गाको लालपुर्जा हस्तान्तरण गरिएको वडा अध्यक्ष खड्काले बताउनुभयो । विद्यालयका लागि आफ्नो घर भएको जग्गा त्याग्ने व्यक्तिले अन्ततः आफ्नै जग्गाको कानुनी अधिकार प्राप्त गर्दा कार्यक्रममा उपस्थित धेरैको आँखामा खुसीका आँसु देखिएका थिए ।
अभिभावक भेलाबाट विद्यालयको विकासमा योगदान पुर्याउने व्यक्तित्व तथा आर्थिक सहयोगीहरूलाई सम्मान गरियो । साथै, यस वर्षको एसइई परीक्षामा सहभागी ३२ जना विद्यार्थीमध्ये नियमिततर्फ २९ जना उत्तीर्ण भएका विद्यार्थीलाई सम्मान गरियो भने पूरक परीक्षाबाट बाँकी तीन जना पनि सफल भएपछि मालिका माध्यमिक विद्यालयको इतिहासमै पहिलो पटक एसइईमा शतप्रतिशत नतिजा कायम भएको घोषणा गरियो ।
ए+ ग्रेड ल्याउने दुई जना विद्यार्थीलाई वडा कार्यालयले जनही रु २ हजार ५ सय नगदसहित सम्मान गरेको वडा अध्यक्ष खड्काले बताउनुभयो । तीन दशकदेखिको सामाजिक न्यायको अभियान सफल हुनु र विद्यालयले एकै वर्ष शतप्रतिशत एसइई नतिजा हासिल गर्नु मालिका माध्यमिक विद्यालयका लागि मात्र नभई समग्र समाजका लागि प्रेरणादायी उपलब्धि बनेको उहाँको भनाई छ ।






-1759842583.jpg)