जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले विपदबाट जोगिन सावधानी अपनाउन अनुरोध गरेको छ । मनसुन सुरु भइसकेको अवस्थामा मनसुन जन्य विभिन्न विपद्को जोखिम रहेको भन्दै प्रशासनले विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।
बाढी, पहिरो, चट्याङ लगायतको जोखिम रहेकोले यसबाट जोगिन सतर्कता अपनाउन प्रशासनको अनुरोध छ । साथै प्रशासनले आफ्नो गाउँ ठाउँमा कुनै विपद्का घटना भएमा तत्कालै खबर गर्न पनि अनुरोध गरेको छ ।
यसका लागि जिल्ला प्रशासन कार्यालयको पैसा नलाग्ने फोन नम्बर १२३४ मा फोन गर्न सकिने कार्यालयले जनाएको छ । विपदबाट जोगिन नियमित रूपमा मौसम सम्बन्धी जानकारी लिन, सुरक्षित स्थानमा बस्न, आवश्यक सामग्री तयारी अवस्थामा राख्न, सुरक्षा निर्देशनहरू पालना गर्न र आपत्कालीन नम्बरहरू याद राख्न पनि अनुरोध गरिएको छ ।
प्रशासनले खोज, उद्धार, राहत एवं अन्य आपत्कालीन कार्यको लागि आवश्यकता अनुसार सुरक्षा संयन्त्र, पालिकाका जनप्रतिनिधि, जिल्लास्थित कार्यालय, आपत्कालीन सेवा दिने संघसंस्थाहरुसंग तत्कालै समन्वयको व्यवस्था मिलाइएको समेत जनाएको छ ।
प्रशासनले जिल्लावासीहरूलाई सचेतना अपनाउन र सुरक्षित रहन अपिल गरेको छ ।










-1759842583.jpg)