Kakhara सबैको खबर सम्पूर्ण खबर
डिग्रे मन्दिरमा भोली बिहान क्षमा पूजा हुने 
फाइल फाेटाे ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ को डिग्रे शाइकुमारी मन्दिरमा भोली क्षमा पूजा हुने भएको छ । मन्दिरमा गत वैशाख ३१ गते एक व्यक्तिले आगजनी गरेका थिए । उक्त आगजनीबाट भएको क्षतिको मर्मत सम्भार गरेर भोली मन्दिरमा क्षमा पूजा गर्न लागिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

मन्दिर मर्मतका लागि मुसिकोट नगरपालिकाले ५ लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट आगलागीबाट भएको क्षतिको मर्मत सम्भार गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार भगवती मन्दिर र खप्तड स्वामीको मन्दिर बाहिर भित्र टायल विच्छ्याउनुका साथै शृङगारिएको छ । 

मर्मतको काम सकिएपछि भोली बिहान ७ बजेदेखि मन्दिरमा नव दुर्गा माताको मूर्ति प्रतिस्थापन गरी स्वस्ति वाचन तथा क्षमा पूजा गरी यज्ञ सहित सत्यनारायणको विशेष पूजा हुने अध्यक्ष केसीले बताउनुभयो । पूजामा विभिन्न उच्च पदस्थ व्यक्तिहरूको समेत उपस्थिति रहने उहाँले जानकारी गराउनुभएको छ । 

उक्त पूजामा सहभागी भई आशीर्वाद तथा प्रसाद ग्रहण गर्न मन्दिर व्यवस्थापन समितिले सम्पूर्ण भक्तजनहरूमा अनुरोध समेत गरेको छ । यसैबिच मन्दिर नजिकै २५ लाखको लागतमा फराकिलो फिल्ड समेत निर्माण गरिएको छ । भोली नै उक्त फिल्डको अनुगमन निरीक्षणको कार्यक्रम समेत रहेको बताइएको छ । 

जिल्लाको आठबिसकोट नगरपालिकाका एक मानसिक सन्तुलन नभएका युवाले मुख्य मन्दिरमा आगजनी गरेका थिए । उक्त आगलागीबाट भेटी सहित लाखौँको क्षति भएको मन्दिर व्यवस्थापन समितिको भनाई छ । डिग्रे मन्दिर कर्णाली प्रदेशकै प्रमुख धार्मिक स्थल हो । यहाँ पूजापाठ तथा बली दिनाले मनले चिताएको पूरा हुने जनविश्वास रहेको छ । 

मन्दिरमा हरेक दिन पूजापाठ तथा दर्शन गर्न पाइन्छ भने हरेक वर्ष मन्दिर परिसरमा भव्य मेला र विशेष पूजा पाठ समेत सञ्चालन हुन्छ । यस मन्दिरमा दर्शनका लागि बर्सेनि लाखौँ दर्शनार्थीहरु पुग्ने गरेको मन्दिर व्यवस्थापन समितिको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update