रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ को डिग्रे साइकुमारी मन्दिरमा भोली क्षमा पूजा गरिएको छ । आगजनीमा परेको मन्दिरमा आज क्षमा पूजा गरिएको हो । मन्दिरमा गत वैशाख ३१ गते एक व्यक्तिले आगजनी गरेका थिए । उक्त आगजनीबाट भएको क्षतिको मर्मत सम्भार गरेर क्षमा पूजा गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी निशानराज गौतम, मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य, कोष तथा लेखा नियन्त्रक गोविन्दप्रसाद सुवेदी, सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक जगदीशचन्द्र हमाल, प्रमुख अनुसन्धान अधिकृत नेवबहादुर राना, प्रहरी निरीक्षक झबिन्द्र परियार लगायतको उपस्थितिमा क्षमा पूजा गरिएको हो ।
त्यस्तै मन्दिर दर्शन तथा पूजापाठका लागि दर्शनार्थीहरुको बाक्लो उपस्थिति समेत रहेको बताइएको छ । आगजनीका कारण मुख्य मन्दिरमा पूजापाठ रोकिएको थियो । क्षमा पूजा पश्चात् त्यहाँ पनि पूजापाठ सुरु भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
आगजनीबाट क्षतिग्रस्त मन्दिर मर्मतका लागि मुसिकोट नगरपालिकाले ५ लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट आगलागीबाट भएको क्षतिको मर्मत सम्भार गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार भगवती मन्दिर र खप्तड स्वामीको मन्दिर बाहिर भित्र टायल विच्छ्याउनुका साथै शृङगारिएको छ ।
मन्दिरमा नव दुर्गा माताको मूर्ति प्रतिस्थापन गरी स्वस्ति वाचन तथा क्षमा पूजा गरी यज्ञ सहित सत्यनारायणको विशेष पूजा हुने अध्यक्ष केसीले बताउनुभयो । यसैबिच मन्दिरमा सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मले एउटा घण्टा समेत राखेको छ ।
जिल्लाको आठबिसकोट नगरपालिकाका एक मानसिक सन्तुलन नभएका युवाले मुख्य मन्दिरमा आगजनी गरेका थिए । उक्त आगलागीबाट भेटी सहित लाखौँको क्षति भएको मन्दिर व्यवस्थापन समितिको भनाई छ । डिग्रे मन्दिर कर्णाली प्रदेशकै प्रमुख धार्मिक स्थल हो । यहाँ पूजापाठ तथा बली दिनाले मनले चिताएको पूरा हुने जनविश्वास रहेको छ ।
मन्दिरमा हरेक दिन पूजापाठ तथा दर्शन गर्न पाइन्छ भने हरेक वर्ष मन्दिर परिसरमा भव्य मेला र विशेष पूजा पाठ समेत सञ्चालन हुन्छ । यस मन्दिरमा दर्शनका लागि बर्सेनि लाखौँ दर्शनार्थीहरु पुग्ने गरेको मन्दिर व्यवस्थापन समितिको भनाई छ ।







-1759842583.jpg)